लाखौं खर्च गरेर निर्माण थालिएको सुनसरीको सप्तरंगी पार्क जीर्ण बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनसरी, अजितकुमार झा, १५ असोज । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको सप्तरंगी पार्क जीर्ण बन्दै गएको छ । पूर्वकै पर्यटकीय स्थलको रुपमा विकास गर्न लाखौं खर्च गरेर निर्माण सुरु गरिएको सप्तरंगी पार्क सम्बन्धित निकायको बेवास्ताका कारण बनिनसक्दै जीर्ण बनेको हो ।

सुनसरीको धरान उपमहानगपालिका वडा नम्बर १७ मा २०५५ सालमा देशकै नमुना पर्यटकीय स्थलको रुपमा सप्तरंगी पार्क निर्माण सुरु गरिएको थियो । सबै जातिको पहिचान तथा संस्कृति झल्काउने गरी निर्माण थालिएको पार्कमा बाल उद्यान, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको शालिक, भगवानका शालिक, मण्डला घरलगायत पूर्वाधार बनाउन थालिएको थियो । तर, निर्माण अलपत्र परेसँगै सप्तरंगी पार्कका भौतिक संरचना नष्ट हुँदै गएका छन् ।

पाँच करोड लगानी गर्ने उद्देश्यका साथ निर्माण थालिएको पार्कमा अहिलेसम्म अढाई करोड रुपैयाँ खर्च भइसकेको छ । तर, निर्माणले गति नलिँदा बनेका संरचना पनि बिग्रिँदै गएका छन् । स्थानीय सरकारले संरक्षणका लागि बजेट उपलब्ध नगराउँदा समस्या भएको पार्कका चौकीदार सीताराम राई बताउनुहुन्छ ।
धरान नगरपालिकाले गुरुयोजनाबिना नै विकास खर्च काटेर निर्माण थालेकाले पार्क अलपत्र परेको स्थानीयको आरोप छ । अब भने धरान उपमहानगरपालिकाले पार्क क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाएर अघि बढ्ने तयारी गरेको छ ।
स्थानीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका साथै सो क्षेत्रको सुन्दरताका लागि पनि सप्तरंगी पार्क निर्माणलाई तीव्रता दिन स्थानीय बासिन्दाको खबरदारी र उपमहानगरपालिकाको तदारुकता जरुरी छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);