१४ औं महाधिवेशनको विषयले सृजित कलह मिलाउन कांग्रेस शीर्ष नेतृत्वलाई हम्मेहम्मे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१४ औं महाधिवेशनको विषयले सृजित कलह मिलाउन कांग्रेस शीर्ष नेतृत्वलाई हम्मेहम्मे

काठमाडौं, २५ कार्तिक । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस यतिबेला आन्तरिक किचलोमै अल्झिएको छ । सरकारको काम कारबाहीप्रति निरन्तर खबर्दारी गर्नु पर्ने कांग्रेस आन्तरीक किचलोमै रुमलिंदा प्रतिपक्षीको भूमिका पनि निर्वाह गर्न नसकेको जस्तै देखिन्छ । नढाँटीकन भन्दा यतिबेला प्रतिपक्ष दल कहाँ छ भनेर खोज्नु पर्ने अवस्थामा देखिन्छ । आगामी १४ औं महाधिवेशनको विषयले सृजित कलह मिलाउन शीर्ष नेतृत्वलाई हम्मेहम्मे भइरहेको छ ।

कमजोर प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला झनै कमजोर देखिएको छ । पार्टी भित्रको आन्तरिक कलहले कांग्रेसले सरकारको कामकारबाहीको समीक्षा गर्न र खबर्दारी गर्न भ्याएकै छैन । संस्थापन पक्ष पार्टी विधान विपरीत अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाको हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा असोज १२ गते १६ बुँदे ज्ञापनपत्र दर्ता गरे यता आन्तरिक कलह झनै बढ्दै आएको छ ।

१७ असोज यता त्यही १६ बुँदे ज्ञापनपत्रमा काँग्रेस अल्झिएको छ । महाधिवेशनको मुखमा पार्टीको विभागहरु गठन भएको भन्दै पार्टी नेतृत्व आलोचित छ । संस्थापन पक्षले पार्टी बिधान बिपरित र मनोमानी ढंगले बिभाग गठन र आफु निकटका नेता तथा कार्यकर्तालाई मनोनित गरेर महाधिवेशनलाई प्रभावित गर्न खोजेको आरोप पार्टी सभापति शेरबहादुर देउवामाथि लाग्दै आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टी विभाग गठनको खुलेर विरोध गर्दै आएका छन् ।

४७ वटा विभाग मध्ये फागुन १७ मा १३ र फागुन १९ मा ७ वटामा विभाग प्रमुख तोकिएपछि सुरु भएको किचलो अझै कायमै छै । किचलोकै बीच सभापति देउवाले सदस्य मनोनयन गर्न पनि छोड्नु भएन । फेरी उपसभापति विजयकुमार गच्छदार समूहका लागि ७ सहित थप ९ विभाग गठन गर्ने सभापति देउवाको तयारी छ । अन्य राजनीतिक दलबाट काँग्रेस प्रवेश गर्नेहरूको समायोजनमा पनि विवाद छ ।

पौडेल पक्षले विधान विपरीतका निर्णय खारेज गर्न दवाव दिंदै आएकोमा संस्थापन पक्षले भने विधानसम्म नै निर्णय भएको विभाग गठनमा पुनर्विचार नहुने जिकिर गरिरहेको छ । नेपाली काँग्रेसमा महाधिवेशन केन्द्रित कलह मिलाउन शीर्ष तहको अनौपचारिक बैठक बारम्बार बसेतापनि ठोस निर्णय लिन सकेको छैन । आ–आफ्नो स्वार्थको गठजोड बलियो बनाउनकै लागि संस्थापन र इतरपक्षबीच होडबाजी चलिरहेको छ ।

संस्थापन इतरले महाधिवेशनको निष्पक्षतामाथि आशंका मिश्रित प्रश्न उठाएपछि त्यसको निदानका लागि काँग्रेस शीर्ष नेताबीच कुरा मिल्न सकेको छैन । पार्टी भित्रको विवादमै रुमलिएपछि कांग्रेसले सरकार र जनजीविकासंग जोडिएको विषयहरुलाई पछिल्लो समय मुद्दा बनाउनै सकिरहेको छैन । त्यसै त कमजोर प्रतिपक्षी त्यसमाथि आन्तरिक कलहले कांग्रेस झनझन कमजोर देखिंदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);