नेपाली कांग्रेस भित्र आन्तरिक बिवाद चुलिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाली कांग्रेस भित्र आन्तरिक बिवाद चुलिदै

nepal-congress

तेजना पण्डित
काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद छताचुल्ल भएको छ । दुई गुटबीचको विवाद बढेपछि एउटा गुटले केन्द्रीय समिति बैठक समेत बहिष्कार गर्ने अवस्था आएको छ ।

बिहीबार बसेको बैठकमा संस्थापन पक्षको विरोध गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले बैठक बहिष्कार गरेपछि अर्काे बैठक के हुन्छ भन्ने अन्यौल समेत बढाएको छ ।

कांग्रेस भित्र अहिले संस्थापन देउवा पक्षविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देखिएको छ । सार्वजनिक स्थलहरुमा वाकयुद्धमा लामो समयदेखि देखिंदै आएको ती दुई गुटबीचको विवाद केन्द्रीय समिति बैठकमा पनि देखिएको छ ।

दुई पक्षबीच आगामी १४ औं महाधिवेशन विवादको मूल कारण बन्दै आएको छ । संस्थापन पक्ष जतिसक्दा महाधिवेशनको मिति पर सार्ने र यो कार्यकाललाई जसरी हुन्छ लम्बाउने पक्षमा देखिन्छ भने पौडेल पक्ष निर्धारित समयभित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिदै आइरहेको छ ।

पार्टी बिधान अनुसार प्रत्येक ४ बर्षमा महाधिबेसन गर्नुपर्ने ब्यबस्था रहेको छ । बिधान अनुसार आगामी फागुन महिनामा सभापती शेरबहादुर देउवाको कार्यकाल सकिदैछ ।

वर्तमान नेतृत्व एक बर्ष कार्यकाल थप गर्न तयारीमा लागेको छ । आन्तरिक सहमति जुटिसकेको अवस्थामा पौडेल पक्षधर नेताहरु बैठक नै बहिस्कार गर्न तर्फ लाग्नु राम्रो नभएको केन्द्रीय सदस्य श्याम घिमिरे बताउनु हुन्छ ।

पौडेल पक्षधर भने कार्यकाल बढाउने पक्षमा भन्दा पनि तोकिएको समयमा महाधिवेशन गराउनुपर्ने पक्षमा देखिन्छ । सभापति देउवाले कार्यकाल लम्याउनका लागी कार्यतालीका सार्वजनिक गर्न नसकेको आरोप पौडेल पक्षधरको छ ।

कार्यतालीका सार्वजनिक गरि महाधिबेसनमा जानुपर्ने बेलामा भएका २८ बिभागलाई बढाएर ४१ ओटा बनाउन लागेकोमा पौडेल पक्षधर नेतृत्वप्रति असन्तुष्ट रहेका छन् । यसले गर्दा बैठक बहिष्कार गर्ने परिस्थिति आएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशी बताउनु हुन्छ ।

कांग्रेस भित्र गुटगत राजनीति घटनुको साटो बढीरहेको छ । गुटबन्दीकै कारण २०७४ सालको आमनिर्वाचनमा थलिएको कांग्रेस उपनिर्वाचनमा पनि थलिएको छ । ५२ स्थानका लागि भएको उपनिर्वाचनमा कांग्रेस १३ स्थानमै सीमित भएको थियो ।

आन्तरिक द्वन्द्वमा फसेको कांग्रेस सशक्त प्रतिपक्षी वन्न समेत नसकेको आरोप लागिरहेकै बेला कांग्रेस भित्र महाधिवेशन र विभाग गठनको विषय फेरी विवादको रुपमा देखिएको छ । विवादकैबीच कांग्रेस केन्द्रीय समिति बैठक फेरी मंसिर २९ गते बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);