तिहारमा सर्वसाधारणका लागि रानीपोखरी खुला हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तिहारमा सर्वसाधारणका लागि रानीपोखरी खुला हुने

काठमाडौं, २४ असोज । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैं अघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ ।

२०७२ को भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको छ । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । मुख्य गजुर १२३ केजीको तामाले बनेको हो । गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेको थिए । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ ।

पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ ।

उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);