राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको पुनःनिर्मित रानीपोखरीे उद्घाटन गर्नु भएको छ । विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूका कारण नष्त बनेको रानी पोखरीको पूनःनिर्माण सम्पन्न भएसँगै आज राष्ट्रपति भण्डारीले रानीपोखरीे उद्घाटन गर्नु भएको हो ।

आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । आफ्ना दिदी बहिनी नहुने दाजुभाइहरूले तिहारमा भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा पनि रानी पोखरीको महत्व विशेष छ । बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भएको हो ।

आजको यस क्षणमा २०७२ साल माघ २ गते रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरू गरिएको थियो । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने अठोट र प्रण पूरा हुन लागेकाले आफूलाई खुसी लागेको उहाँले बताउनु भयो । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने राष्ट्रपति भण्डारीले बताउनु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उहाँको दावी छ ।

प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति पूननिर्माण कार्य महत्वपूर्ण कोशेढुङ्गा सावित हुने पनि राष्ट्रपति भण्डारीले बताउनु भयो ।

प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरूयोजना तयार पारेको छ । सम्बद्ध सबै सरोकारवाला पक्षसँग समन्वय गरी उक्त गुरूयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति काम भइरहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);