कहिले आउँछ त मेलम्चीको पानी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मनिका खतिवडा, काठमाडौँ, ९ असोज । वर्षौंदेखि पानीको अभाव झेलिरहेका काठमाडौंवासी मेलम्चीको पानी दशँैअघि नै काठमाडौं आइपुग्ने सरकारी हल्लाले दंग परेका थिए । तर, सुरुङ मार्गको काम समयमै सम्पन्न हुन नसकेपछि यसै वर्षको दसैंमा मेलम्चीको पानी खाने राजधानीवासीको चाहना पूरा नहुने भएको छ ।

उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न २०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ हुँदा राजधानीबासीले मेलम्चीको पानीका लागि थप ६ महिना पर्खनुपर्ने भएको हो ।

निर्माण कार्यमा ठेकेदार कम्पनीको ढिलासुस्तीसँगै भूकम्प र भारतको नाकाबन्दीका कारण कामले तीव्रता पाउन नसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आयोजना र ठेकेदारबीच २०७४ असोज १५ भित्र राजधानीमा मेलम्चीका पानी खसाल्ने गरी चार वर्षअघि सम्झौता भएको थियो । तर, सुरुङ निर्माणको ठेक्का पाएका इटालियन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतको दि–राभेनाले पार्टपुर्जा तथा स्पेयर्स पार्ट नभएको बहाना गर्दै समयमा काम सम्पन्न नगर्दा राजधानीबासी निराश हुनुपरेको छ ।

ठेक्का सम्झौता भएको तीन महिनापछि अर्थात् २०७० असोजदेखि मेलम्चीको सुरुङ खन्ने काम सुरु भएको थियो । मेलम्ची खोलामा बाँध बाँधेर राजधानीसम्म पानी ल्याउन २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म २५ दशमलव ६ सय ५९ किलोमिटरमात्र खनिएको छ ।

दुई हजार ७२ वैशाख १२ गते भूकम्प जानुअघिसम्म निर्माण कम्पनीले जम्मा आठ किलोमिटर सुरुङ खनेको थियो । १७ वर्षअघि सुरु भएको आयोजना निर्धारित समयभित्र सम्पन्न नहुँदा यसअघि पनि आयोजनाको तालिका तीनपटक संशोधन भइसकेको छ । अब भने राजधानीबासीले मेलम्चीको पानीका लागि ६ महिनाभन्दा बढी पर्खनु नपर्ने आयोजनाको दाबी छ ।

लामो समयदेखि राजनीतिक बहानाबाजीको सिकार बनेको मेलम्ची आयोजनाले एसियाली विकास बैंकले १२ करोड अमेरिकी डलरबराबरको ऋण स्वीकृत गरेपछि गति लिएको हो । मेलम्चीको पानी राजधानी भित्रिने निश्चित भएपछि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको स्तरवृद्धि, काठमाडौंको विभिन्न स्थानमा नौवटा पोखरी निर्माणका साथै वितरण सञ्जाल र पानीका पाइपहरु विछ्याउने कामले करिब अन्तिम भइसकेको छ । २३ अर्ब ४१ करोड ८७ लाख लागतमा निर्माण हुने मेलम्ची खानेपानी आयोजना सम्पन्न भएसँगै राजधानीमा खानेपानी समस्या धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);