अब मेलम्चीको पानी काठमाडौंका घर घरमा , दैनिक दुई घण्टा दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अब मेलम्चीको पानी काठमाडौंका घर घरमा , दैनिक दुई घण्टा दिने तयारी

melanchi surung

काठमाडौं, २७ फागुन । मेलम्चीको पानी काठमाडौं आएसँगै उपत्यकावासीको घरमा दैनिक रूपमा पानी आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिक रूपमा पानी वितरण गर्ने योजना बनाएको हो ।

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुई–तीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। । केन्द्रको परीक्षण सकिएपछि नयाँ र पुरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पुरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ।

अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका नौ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ। नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण सुरु हुन्छ ।

काठमाडौं उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ ।

मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने शाक्यको भनाइ छ । आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल सुरु गरिने बताए। जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइनेछ ।

पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यहीअनुसार दैनिक एक–दुई घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ। परीक्षणका क्रममा समस्या नआएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ।

लिमिटेडअन्तर्गतका सबै शाखा कार्यालयको आआफ्नो फेसबुक पेजबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने उनले बताए। सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिनेछ।

समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको उनले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्ययवसायी र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ।

मेलम्चीको पानी काठमाडौं आइसकेको र त्यसको वितरणका लागि संरचनाको निर्माण भइसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए । मेलम्चीको पानी वितरणकै लागि उपत्यकाका विभिन्न स्थानमा गरी नौ केन्द्रबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);