बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने

काठमाडौं, २२ फागुन। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी शनिबार सुन्दरीजल आइपुग्ने भएको छ ।

यही फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी शनिबार सुन्दरीजल आइपुग्ने मेलम्ची आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।

सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो । पानी शनिबार नै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रम समेत रहेको छ । शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको बताइएको छ ।

सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यसका लागि अझै केही समय पर्खिनु पर्नेछ ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । मेलम्चीको पानी आए काठमाडौं उपत्यकामा खानेपानीको उपलब्धतामा केही सहजता हुने विश्वास गरिएको छ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलबाट दैनिक आठ करोड लिटर पानीमात्रै वितरण हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);