मेलम्चीको पानी काठमाडौं आउन अब ०७५ साल कुर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मेलम्चीको पानी काठमाडौं आउन अब ०७५ साल कुर्नुपर्ने

काठमाडौँ, १९ भदौ । उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो ।

 

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ खन्ने काम सोचेभन्दा ढिलो भएकाले समस्या परेको हो । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले मेलम्चीको पानी काठमाडौं आइपुग्न ०७५ नै कुर्नुपर्ने बताए । ‘सुरुङ खन्ने कामले सोचेजस्तो गति पाउन सकेको छैन ।

 

यही गतिमा काम भए पुस महिनासम्म मात्रै सुरुङ खन्ने काम सकिन्छ । त्यसपछि तीन महिना सुरुङको मेन्टिनेन्समा लाग्छ । सम्पूर्ण काम चैत अन्तिम सातामा मात्रै सकिन्छ । खानेपानी काठमाडौं आइपुग्न ०७५ लाग्छ,’ देवकोटाले भने ।

यस कारण ०७५ साल लाग्छ

आयोजनाका अनुसार अझै १.९२४ किमि सुरुङ खन्न बाँकी छ । खन्नुपर्ने २७.५८४ किमिमध्ये २५.६५९ किमि मात्र खनिसकिएको छ । अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ । ‘सुरुङ खन्ने रफ्तार घटेको छ । मेसिन पनि पुरानो भयो । बीचमा नरम चट्टान भेटियो । पानी पनि रसाउन थाल्यो । सुरुङ खन्ने काम जोखिमपूर्ण भयो । र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ कार्यकारी निर्देशक देवकोटाले भने ।

 

यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ । त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ । त्यसका लागि थप तीन महिना लाग्छ । र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ । पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ । बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ ।

 

ढिलो हुनका ४ कारण

१) १२ वैशाख ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित बन्यो । भूकम्पपछिको करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकियो ।

२) भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो । नाकाबन्दीमा इन्धनको चरम अभाव भयो । सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए । जसका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

३) इटालियन ठेकेदारले सन् २०१३ देखि सुरुङ खन्ने काम गर्दै आएको छ । सुरुङ खन्दा प्रयोग गरिएको मेसिन ठेकेदार कम्पनीले अहिलेसम्म परिवर्तन गरेको छैन । पुरानै मेसिनको भरमा सुरुङ खनिँदै छ ।

४) भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ । चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भयो ।

टेकराज थामीले नयाँ पत्रिकामा खवर लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);