आज १ सय ७ औं विपी जयन्ती मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज १ सय ७ औं विपी जयन्ती मनाइँदै

BP Koirala

काठमाडाैं, २४ भदाैं । आज नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा १ सय ७ औं जयन्ती मनाइँदैछ । नेपालमा राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगाका रुपामा नेपाली राजनीतिमा हेर्ने गरिन्छ ।

विक्रम संवत् १९७१ भदौ २४ गते जन्मिनुभएका कोइरालाले भारत निर्वासनकै क्रममा विक्रम संवत् २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियोे । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको पाइन्छ । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाकोे प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो । तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

सुन्दरीजल बन्दी गृहमा राखिएका वीपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका उहाँको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो । विपीको राजनीतिका साथै साहित्यमा समेत महत्वपूर्ण भूमिका रहेको छ । उहाँद्वारा लिखित सुम्निमा, तीन घुम्ती जस्ता उपन्यास लोकप्रीय मात्र नभई नेपाली समाजको तस्बिर बनेका छन् ।

साहित्य, इतिहासदेखि दर्शनशास्त्रमा समेत वीपीको विशिष्ट योगदान छ । यसैबीच वीपीको सम्झनामा विगतका वर्षहरुमा विविध कार्यक्रम गरी जयन्ती मनाइदै आएकोमा यस वर्ष भने कोरोना भाइरसको संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);