बाजुरा, १२ साउन । कोरोनाको बीचमा बाजुरा बडीमालिकामा अवस्थित झरना अवलोकन गर्नेको संख्या बढेको छ । नगरपालिका वडा नम्बर ८ र ६ को सिमाना पर्ने विरेखोला झरनाको अवलोकन गर्नेको संख्या दिनानुदिन बढ्दै गएको हो ।
बाजुरा सदरमुकाम मार्तडी बजारबाट करिव ६ किलोमिटरको दूरीमा पर्ने विरेखोला झरना अवलोकन गर्नेहरु भीड लाग्न थालेको छ । करिब डेढसय मिटर लामो वीरेखोला झरना अनुपम सौन्दर्यले ठाँटिएको छ । त्यही सौन्दर्यतमा झरना अवलोकन गर्न पुग्नेहरु मोहित हुने गर्दछन् ।
वीरेखोला झरनाको अवलोकन गर्नेको दैनिक आगमन बढेको छ । झरना अवलोकन गर्ने आन्तरिक पर्यटक पुग्ने गरेपनि सडक समस्या हुँदा आउजाउमा समस्या हुने गरेको छ । स्थानीय सरकारले झरनासम्म पुग्ने सडकको व्यवस्था गर्न सकेमा सहज हुने झरना अवलोकनकर्ताको भनाइ छ ।
झरनालाको प्रवद्धन गर्न सके जिल्लाको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने प्रवल सम्भावना छ । यसको वरिपरि चारैतिर हरियाली वनजंगल बोटविरुवा चराचुरुङगी पशुपन्छिको चिरविर चिरविर आवाजले झन सौन्दर्यता झल्काएको छ ।
वीरेखोला झरना अझै जिल्लाको उत्कृष्ट एवं आकर्षक पर्यटकीय स्थल बन्न सक्ने सम्भावना उत्तिकै छ । पर्यटकीय संभावना भएपनि प्रवद्र्धनको क्षेत्रमा कसैको ध्यान पुगेको छैन । यद्यपी बडीमालिका नगरपालिका र डिभिजन वन कार्यालयको सहयोगमा चालु आर्थिक वर्षमा प्रवद्र्धनात्मक काम गरिने भएको छ ।
विरेखोला झरनासम्म आवतजावतका लागि सडक निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम स्थानीय तह, प्रदेश तथा संघीय सरकारले ल्याउन सके वर्षेनी आन्तरिक पर्यटकलाई पुराउन सकिन्छ । आन्तरिक पर्यटनको प्रवद्र्धन गरी स्थानीयको आर्थिक जीवनमा समेत सुधार ल्याउन सकिन्छ । तर, वीरेखोला झरना तीनै तहका सरकारको बेवास्तामा पर्दै आएको छ ।




