Thu, 18 Jan 2018

एन्फाको निर्वाचन नजिकिँदै जाँदा पदाधिकारीबीच घम्साघम्सी सुरु

काठमाडौं, ३० पुस । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन नजिकिँदै जाँदा पदाधिकारी र केन्द्रीय प्रतिनिधि आफ्नो पक्षमा पार्न पुराना र नयाँ पदाधिकारीबीच घम्साघम्सी सुरु भएको छ ।

चैत १४ गते हुने एन्फाको साधारणसभाका लागि जिल्ला प्रतिनिधि चयनमा एन्फा पदाधिकारीले मनपरी गरेको आरोप पुराना पदाधिकारीको छ । गत वर्ष उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान उपेन्द्रमान सिंहले पनि एन्फा पदाधिकारीले जिल्ला प्रतिनिधि चयनमा आफूखुसी गरिरहेको आरोप लगाएका छन् ।

एन्फाका महासचिव धीरेन्द्र प्रधानले  निर्वाचन भइसकेका जिल्लामा विवाद नरहेको र विधानअनुसार नै प्रतिनिधि चयन भइरहेको दाबी गरे । जिल्ला प्रतिनिधि चयनका लागि पुस ५ गतेदेखि सुरु भएको निर्वाचन २३ जिल्लामा सम्पन्न भइसक्दा केही जिल्लामा भने विवाद देखिएको छ ।

विवादका बीच एन्फालाई भने पाँच दिनभित्र अर्थात् माघ ५ गतेसम्ममा बाँकी २२ जिल्लाको निर्वाचन सम्पन्न गर्नुपर्ने दबाब छ । एन्फामा हाल ४५ जिल्ला आबद्ध छन् ।

By:

4 days ago VIEWS: 18

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!