एजेन्सी, ५ जेठ । अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् ।
कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् । अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १ दशमलव ६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए । चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठबन्धन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ । यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ ।