काठमाडौं ।
उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्रकर्मीहरू आन्दोलित भएका छन् ।मंगलवार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित चलचित्र प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि निर्माण टिमसहित चलचित्रकर्मीहरूले प्रदर्शन गर्दै उच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । अदालतको आदेश सच्याउन माग गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । निर्माता तथा अभिनेता निश्चल बस्नेतले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई साहित्य र कलालाई दृश्यरूपमा प्रश्तुत गर्ने सशक्त माध्यम भएको भन्दै सरोकारवाला सबैले यो कुरा बुझ्न आवश्यक भएको बताउनु भयो ।
उहाँले चलचित्र निर्माण संविधान र सेन्सर बोर्डको नीतिअनुसार गरिएको दाबी गर्दै सम्बन्धित समुदायसँग पटक–पटक छलफल गरेर ‘सेल्फ सेन्सरसिप‘ अपनाइएको पनि स्पष्ट पार्नुभयो । बस्नेतले मुद्दा दायर गर्ने पक्षलाई समेत सेन्सरअघि नै चलचित्र देखाइएको उल्लेख गर्दै अदालतले विषयको गम्भीरता अझ गहिरो रूपमा बुझ्नुपर्ने बताउनु भयो । यम थापा निर्देशित फिल्म ‘लाली बजार’ १८ वैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ । अदालतले यसअघि नै सम्प्रदायका मानिसहरूको मानमर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति द्वेष वा वैमनस्या उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्नु नेपालको संविधान विपरीत हुने हुँदा संविधान र प्रचलित कानुनअनुसार भुमिका निर्वाह गर्न आदेश दिएको र लाली बजारको रिटमा पनि सोहीअनुसार गर्न अल्पकालिन आदेश दिएको हो । चलचित्रमाथि वैशाख २२ सम्म प्रदर्शनमा रोक लगाइएको छ ।




