ब्याटिङमा अपेक्षित प्रदर्शन हुन नसक्दा हार व्यहोर्नुपर्‍योः सोमपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

ब्याटिङमा अपेक्षित प्रदर्शन हुन नसक्दा हार व्यहोर्नुपर्‍योः सोमपाल

काठमाडौं । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले ब्याटिङमा राम्रो शुरुवात गर्न नसक्दा टोलीले हार व्यहोर्नुपरेको स्वीकार गरेका छन् । खेलपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोमपालले विपक्षीले प्रस्तुत गरेको लक्ष्य पछ्याउन सकिने भएपनि ब्याटिङ युनिटको कमजोरीका कारण नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताए । सोमपालकाअनुसार टोलीले बलिङतर्फ विपक्षीलाई मध्यम योगफलमा रोक्न सफल भएपनि ब्याटिङमा अपेक्षित साझेदारी हुन सकेन । विकेट जोगाउने रणनीतिमा रनको गति सुस्त हुनु हारको अर्को कारण रहेको उनको विश्लेषण छ ।

उनले प्रतिकूल मौसमले पनि खेलमा केही प्रभाव पारेको उल्लेख गरे । उनले दीपेन्द्र सिंह ऐरीको पछिल्लो प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलहरूमा अन्य खेलाडीहरूले पनि आफ्नो जिम्मेवारी सम्हाल्ने र टोलीले पुनरागमन गर्ने विश्वास व्यक्त गरे । आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जित महत्वपूर्ण हुने उनको तर्क छ । विपक्षी ब्याट्सम्यानको प्रदर्शनका बारेमा टिप्पणी गर्दै सोमपालले उनीहरूले उत्कृष्ट ब्याटिङ गरेको बताए । विशेषगरी राम्रो बलमा पनि बाउन्ड्री प्रहार गरेर विपक्षीले नेपाली बलरहरूलाई दबाबमा राखेको उनले स्वीकार गरे । नेपाली क्रिकेटलाई यो उचाईसम्म पु¥याउन समर्थकहरूको ठूलो हात रहेको बताउँदै सोमपालले आगामी दिनमा पनि रंगशालामा आएर हौसला प्रदान गर्न आग्रह गरे । समर्थकहरू टोलीको १२ औँ खेलाडी भएको उल्लेख गर्दै उनले फ्यानहरूको उपस्थितिले खेलाडीमा थप ऊर्जा भर्ने विश्वास व्यक्त गरे ।नेपाली राष्ट्रिय टोलीसँगको खेलमा प्रभावशाली जित दर्ता गरेपछि ओमान क्रिकेट टोलीका कप्तान जतिन्दर सिंहले टिमको सफलतामा पूर्वतयारी र स्पष्ट रणनीतिको मुख्य भूमिका रहेको बताएका छन् ।

हालैका पाँच खेलमध्ये चारमा जित निकाल्दै ओमानले आफ्नो लयलाई निरन्तरता दिएको छ । नेपालविरुद्धको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान सिंहले जितको श्रेय ओमानमा गरिएको कठोर तयारी र नामिबिया भ्रमणबाट प्राप्त अनुभवलाई दिए । खेलको रणनीतिबारे बोल्दै कप्तान सिंहले पहिले ब्याटिङ गरेर बोर्डमा सम्मानजनक योगफल खडा गर्ने योजना सफल भएको बताए । सिंहले यस खेलमा व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । घरेलु क्रिकेटमा धेरै रन बनाए पनि अन्तर्राष्ट्रिय स्तरमा ठूलो इनिङ खेल्न नसकिरहेको अवस्थामा यो शतकले आफूलाई थप ऊर्जा दिएको उनले बताए । उनले आफ्नो यो सफलता र अवार्ड पत्नीलाई समर्पण गर्दै उनलाई आफ्नो ‘प्रेरणाको स्रोत’ बताएका छन् । ओमानको टोलीमा अनुभवी र युवा खेलाडीहरूको राम्रो सन्तुलन रहेको उल्लेख गर्दै उनले मुख्य प्रशिक्षक सुलक्षण कुलकर्णीको प्रशंसा गरे ।

नेपालको ब्याटिङ इनिङका क्रममा वर्षाको सम्भावनालाई मध्यनजर गर्दै स्पिनरहरू प्रयोग गरी छिटो २० ओभर सकाउने रणनीति समेत लिइएको उनले खुलाए । नेपाली क्रिकेट टोलीको भविष्य उज्ज्वल रहेको भन्दै सिंहले यहाँको ‘ए’ टिममा प्रतिभाशाली खेलाडीहरूको बाहुल्य रहेको र उनीहरूले अवसर पाएमा राष्ट्रिय टोलीमा ठूलो छाप छोड्ने विश्वास व्यक्त गरे । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिष्पर्धा भएको हो ।

Leave a Reply