मोदी भ्रमणको खर्चमा विवाद | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

मोदी भ्रमणको खर्चमा विवाद

modi tika

काठमाडौं, ५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ। मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सातवटा समिति बनाएको थियो। भ्रमणपछि सातवटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छन् ।

प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबीच खर्चलाई लिएर आरोपप्रत्यारोप चलेको छ। समितिले मोदीको भ्रमणमा मान्छे जुटाउन ३ सय ३५ वटा गाडी प्रयोग गरेको जनाएको छ। प्रदेश २ का ८ जिल्लाबाट जनकपुरमा मान्छे ल्याउन त्यति गाडी प्रयोग गर्नुपरेको समितिका संयोजक साहले बताएका छन्।

मान्छे ओसार्न ८ जिल्लामा प्रतिजिल्ला १५ देखि ७० का दरले गाडी प्रयोग भएको उनको दाबी छ । समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने आफ्नो गृहजिल्ला रौतहटमा १० वडा गाडीमात्र प्रयोग भएको दाबीसहित यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन्। रौतहटका प्रदेशसभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन्।

गत बुधबार बसेको समितिको बैठकमा यस विषयमा झा र यादवबीच चर्काचर्की भएको थियो। बैठकमा यादवले कुनै अनियमितता नगरेको दाबी गरेका थिए भने झाले आफू चुप लागेर नबस्ने बताएकी थिइन्। यसबारेमा झासँग जिज्ञासा राख्दा उनले यस विषयमा केही नबोल्ने प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘अब यो विषय मिडियामा आइसक्यो। मैले केही बोल्दिनँ।’ यादवले नागरिकसँग पनि कुनै अनियमितता नभएको दाबी गरे। उनले भने, ‘कुनै व्यक्तिले कुनै कुरा गर्न सक्छन् तर नागरिक पचिालन समितिमा कुनै भ्रष्टाचार भएको छैन।’

संयोजक साहले समितिका तर्फबाट गरिएको खर्चको सबै विववरण संकलन सुरु गरिएको बताए। उनले भने, ‘नागरिक परिचालन समितिका तर्फबाट ९० लाखको हाराहारीमा खर्च भएको हुनुपर्छ। अहिले ८७ लाखसम्मको बिल तयार भएको छ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।