भारतीय प्रधानमन्त्री मोदीलाई 'नागरिक अभिनन्दन' किन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीलाई ‘नागरिक अभिनन्दन’ किन ?

modi

काठमाडौं, १९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी बैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउँदै छन् । मोदी नेपाल भ्रमणमा आएका बेला उनलाई राज्य स्तरबाट ‘नागरिक अभिनन्दन’ गर्ने तयारीसमेत भइरहेको छ । प्रदेश सरकारले ५० हजार मान्छे भेला गर्न सर्कुलर नै जारी गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले प्रस्ताव गरेको मिति पन्छाएर आफ्नै अनुकुलतामा नेपालको भ्रमणमा आउन लागेका हुन् । मोदीले गर्न लागेको नेपाल भ्रमणकै कारण यहाँ केन्द्र सरकारदेखि प्रदेश सरकारका मन्त्रीसम्मलाई भ्याननभ्याइ छ । यही व्यस्तताले हुन सक्छ, मन्त्रीहरुले कसले के काम गर्ने हो भन्नेसमेत भुलेका छन् ।

परराष्ट्रमन्त्रालयले सार्वजनिक गर्नुपर्ने भ्रमण तालिका गृहमन्त्री रामबहादुर थापाले गरे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिलेसम्म यो विषयमा मौन छन् । गृहमन्त्रीले जनकपुर पुगेरै सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन पनि दिए । मोदीको भ्रमण मिति सार्वजनिक हुनुअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय राजदूतसँग भेटवार्ता गरेका थिए । अहिले मुख्यमन्त्री राउत स्वयं मोदी भ्रमणको व्यवस्थापनमा लागेका छन् । प्रदेश र स्थानीय सरकारका फरक–फरक तयारी समिति गठन गरिएका छन् ।

‘जंगे पिलरहरु हटाउने क्रम नरोकिँदै, नाकाबन्दीको हिसाब किताब नहुँदै, तराई डुबान नरोकिँदै, विकासका अवरोध नहट्दै, आन्तरिक राजनीतिमा हस्तक्षेप नरोकिँदै मोदीलाई अभिनन्दन किन ?’

 

त्यतिमात्रै होइन, मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रममा बाह्रविघा रंगभूमि मैदानमा ५० हजार मान्छे उतार्न प्रदेश २ का ८ जिल्लामा सर्कुलर नै जारी गरिएको छ । उक्त क्षेत्र पुगेर गृहमन्त्री आफैंले स्थलगत निरीक्षण गरेका थिए । नेपालबाट भारत जाने प्रधानमन्त्री सिधै दिल्ली पुग्छन् । तर, भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टर पटनाबाट उडेर सिधै जनकपुर बाह्रबिघामा अवतरण गर्नेछन ।

मोदीले जनकपुरलाई नै नेपाल पस्ने नाकाका रुपमा प्रयोग गर्दैछन । काठमाडौँ छाडेर सिधै जनकपुर आउन लागेका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली जनकपुर नै जानेछन । नेपालको संविधानलाई लिएर भूकम्पको क्षतिले थलिएका बेला भारतले लगाएको नाकाबन्दी, सीमा क्षेत्रमा एसएसबीले गरिरहेको ज्यादतिलाई भुल्न नसकेका नेपालीमा मोदीको भ्रमणलाई लिएर खासै उत्साह देखिँदैन ।

जे होस्, छिमेकी देशका प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु राम्रो पक्ष हो, दुई छिमेकी मुलुक सँधै तिक्तताको सम्बन्धमा रहनुहुन्न । तर, सम्बन्ध सुधार गर्न हुने भ्रमणमा राज्यस्तरबाट गर्न लागिएको नागरिक अभिनन्दलाई लिएर भने प्रश्न उब्जिएको छ, ‘जंगे पिलरहरु हटाउने क्रम नरोकिँदै, नाकाबन्दीको हिसाब किताब नहुँदै, तराई डुबान नरोकिँदै, विकासका अवरोध नहट्दै, आन्तरिक राजनीतिमा हस्तक्षेप नरोकिँदै मोदीलाई अभिनन्दन किन ?’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);