उत्तर र दक्षिण कोरियाबीच शुक्रबार उच्चस्तरीय वार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

उत्तर र दक्षिण कोरियाबीच शुक्रबार उच्चस्तरीय वार्ता

kimjong-moonjae

एजेन्सी, १३ वैशाख । वर्षौको पर्खाइपछि उत्तर कोरिया र दक्षिण कोरियाबीच भोलि उच्चस्तरीय वार्ता हुँदैछ । योसँगै कोरियाली प्रायद्धिपमा शान्तिको सञ्चार भएको छ ।

लामो प्रतिक्षापछि २७ अप्रिल शुक्रबारका दिन उत्तर कोरिया र दक्षिण कोरियाका शासकबीच भेटवार्ता हुन लागेको हो । दुई कोरियाका शासकहरुको भेटवार्ताको खबरले दुवैतिरका जनता उत्साहित र हर्षित छन् ।

उत्तर कोरियाका नेता किम जोङ्ग उन कोरियाली शिखर बैठकका लागि पैदलै सीमा पार गर्ने बताइएको छ । उनी दुबै कोरियालाई छुट्याउने सैन्य सीमारेखामा दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनसँगै नेपाली समय अनु्सार विहान पौने दस बजे भेटवार्ता गर्ने कार्यक्रम छ ।

करिब दस वर्षपछि दुई देशको सर्वोच्च नेताको यो पहिलो भेट हुनेछ । कोरियाली प्रायदीपमा शान्तिको लागि यो शिखर बैठक तर्फ संसारको आँखा पुगेको छ । यो बैठककको सफलता मै किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर बैठकको बाटो निर्धारण हुनेछ ।

सीमापार गर्ने बित्तिकै १९५०–५३ को कोरियाली युद्धपछि दक्षिण कोरियामा खुट्टा राख्ने पहिलो उत्तर कोरियाली नेताको रुपमा किम चर्चामा आउने छन् । उत्तर कोरियाका शासक किमलाई दक्षिण कोरियाका राष्ट्रपति मूनले असैन्य क्षेत्रमा युद्धविराम भएको गाउँ पैनमुंजोममा स्वागत गर्ने तयारी भइरहेको छ ।

स्वागत कार्यक्रमपछि किमलाई गार्ड अफ अनर र त्यस पश्चात दुवै नेता पैनमुंजोम स्थित पिस हाउस पुगेर कुराकानी गर्ने कार्यक्रम तय गरिएको दक्षिण कोरियाको राष्ट्रपति सचिवालयले जनाएको छ ।

दुवै देशका नेताबीच वार्ता पश्चात सम्झौतामा हस्ताक्षर गरिने र संयुक्त वक्तव्य जारी गरिनेछ । कीम फर्किनु अघि बैंक्वेट र विदाई समारोह आयोजना गरिनेछ ।

उत्तर कोरियाको तर्फबाट ९ सदस्यीय प्रतिनिधि मण्डलमा किमकी बहिनी किम यो जोङ विदेश मन्त्री र रक्षामन्त्री पनि सामेल हुनेछन् । दुवै नेताबीच भेटवार्तामा परमाणु निशस्त्रीकरण र स्थायी शान्तिमाथि वार्ता केन्द्रित हुने जनाइएको छ ।

अब आम जनताको रुचि यो छ कि उत्तर र दक्षिण कोरियाका दुबै शासक स्वेच्छाले परमाणु निशस्त्रीकरण सम्झौता माथि सहमत हुन्छन् वा हुँदैनन् । बहुप्रतिक्षित उत्तर र दक्षिणको वार्ता सफलताले विश्व शान्तिमा समेत मद्दत पुग्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुको अनुमान छ ।