दक्षिण कोरियामा शीतकालीन ओलम्पिक्स सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दक्षिण कोरियामा शीतकालीन ओलम्पिक्स सुरु

एजेन्सी, २७ माघ । दक्षिण कोरियामा शीतकालीन ओलम्पिक्स सुरु भएको छ । शीतकालीन ओलम्पिक्स औपचारिक उद्घाटन कार्यक्रममा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीले सँगसँगै मार्चपास गरेका छन् ।

दुई देशका खेलाडी संयुक्त झण्डा मुनि रंगशालामा प्रवेश गर्दा दर्शकहरुले उत्साहका साथ स्वागत गरेका थिए । उत्तर कोरियाका शासक किम–जङ उनकी बहिनी किम यो जङ पनि आफ्ना आलंकारिक राष्ट्रप्रमुख किम जोङ नामसहित उद्घाटन समारोहमा सहभागी भएकी थिइन । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धपछि पहिलो पटक उत्तर कोरियाली शासक परिवारकी सदस्यका रुपमा किम दक्षिण कोरिया पुगेको बीबीसीले उल्लेख गरेको छ ।

प्योंगयांगले यो ओलम्पिक्समा २२ जना खेलाडीका अतिरिक्त खेलाडीहरुलाई हौस्याउने चियर लिडर र वाद्यवादकसहित चार सयजनाभन्दा बढी सहभागी पठाएको छ । दक्षिण कोरियाले शीतकालीन ओलम्पिक्समा सहभागितासँगै उत्तर कोरियासँगको तनावपूर्ण सम्बन्धमा केही सुधार हुने अपेक्षा गरेको छ ।

प्योङचाङमा उद्घाटन समारोहअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाका राष्ट्र प्रमुख किम योङ नामलाई रात्रीभोजमा निम्त्याएका थिए । तर अमेरिकी उपराष्ट्रपति पेन्स भने उत्तर कोरियाका आलंकारिक राष्ट्र प्रमुख नामसहितको रात्रीभोजमा सहभागी भएनन्। अमेरिकी उपराष्ट्रपतिले पाँचै मिनेटमा भोजस्थल छोडेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

रात्रिभोजमा दक्षिण कोरियाका राष्ट्रपति मुन र जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाली राष्ट्र प्रमुखसँग हात मिलाए पनि अमेरिकी उपराष्ट्रपति पेन्सले त्यसो नगरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । राष्ट्रपति मुनले शीतकालिन ओलम्पिक्सलाई शान्तिको आरम्भ भएको दिनका रुपमा स्मरण गरिने बताउनुभएको छ । उहाँले आज उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);