तेजना पण्डित
काठमाडौं, २१ फागुन । संघीय संसदको बैठक सुरु भएसँगै जनताले विकास र समृद्धिको अपेक्षा गरेका छन् । एक दशक लामो राजनीतिक संक्रमणको अन्त्य हुँदै अब मुलुक विकासको गतिमा अघि बढ्नेमा आम नागरिक विश्वस्त देखिएका छन् । यद्यपि, कतिपयले दलहरुले पुरानै प्रवित्ति दोहोर्याउने हुन् कि भन्ने संशय पनि प्रकट गरेका छन् ।
लोकतन्त्र स्थापना पछि गठन भएका सरकार एक वर्ष पनि नटिक्दै फेरिने प्रवित्तिले हैरान भएका नेपाली जनतामा अब भने झिनो आशा पलाएको छ । सरकार स्थायी हुने र विकास निर्माणको कामले गति लिने अपेक्षामा उनीहरु छन् ।
विगतमा सांसदहरुले सरुवा बढुवाको फाइलमा ध्यान दिएकाले देश विकास हुन नसकेको भन्ने बुझेका आम नागरिक वर्तमान सरकारले सुरुवाती चरणमा गरेका केही कामप्रति सन्तुष्ट देखिन्छन् । विगतमा राम्रा काम गरेका र सम्बन्धित विषयका विज्ञलाई सरकारमा ठाउँ दिइएकाले पनि जनतामा अब त केही होला भन्ने आशा पलाएको हो ।
सरकारले आर्थिक समृद्धिको अभियान प्रभावकारी बनाउन सबै दललाई मिलाएर लान सक्नुपर्नेमा कतिपय सर्वसाधरणको जोड छ । प्रतिपक्षी दलले पनि सरकारका राम्रा कामको समेत विरोध गर्ने विगतको प्रवृत्ति त्याग्न सके विकास अवस्यम्भावी रहेको आम नागरिकको भनाइ छ ।