प्रदेश नम्बर २ मा ८ सिटका लागि ९ जनाको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

प्रदेश नम्बर २ मा ८ सिटका लागि ९ जनाको उम्मेदवारी दर्ता

जनकपुर, १० माघ । राष्टिय सभा निर्वाचनको लागि आज प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गराउने समय सिमा भित्र प्रदेश नम्बर दुईबाट आठ वटा सिटमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालय दिएको जानकारी अनुसार महिलाबाट संघीय समाजवादी फोरमका प्रमीलाकुमारी नेपाली कांग्रेसबाट मुक्ता कुमारी यादव र माओवादी केन्द्रबाट शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

दलितबाट पुरुषमा संघीय समाजवादी फोरमका रामपृत पासमान, अल्पसंख्यक पुरुषमा राजपा नेपालबाट वृषेशचन्द्र लालले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी अन्य खुला समुहमा नेपाली कांग्रेसको तर्फबाट जितेन्द्रनारायण देव, नेपाल संघीय समाजवादी पार्टीका मोहम्द अखतर हुसैन राष्ट्रिय जनता पार्टीबाट रमेशप्रसाद यादव, नेकपा एमालेबाट सुमन राज प्याकुरेलको उम्मेदवारी दर्ता गराएका छन् ।

दुई जना उम्मेदवार उम्मेदवारी दर्ता गर्नबाट वन्चित

यस्तै दुई जना उम्मेदवार उम्मेदवारी दर्ता गर्नबाट वन्चित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र नेपाली जनता दलका अध्यक्ष हरिशचन्द्र साह उम्मेदवारी दर्ता गराउनबाट वन्चित भएका हुन् । नेपाली जनता दलका उम्मेदवार साहले विहान उम्मेदवारी दर्ता गराउनको लागि मनोनय फारम खरिद गरेको भएपनि उम्मेदवारी दर्ता गराउन जाँदा समर्थक र प्रस्ताव नपाएपछि उनले उम्मेदवारी दर्ता गराउन सकेनन् ।

उनको समर्थक रहेका कालिका माई गाउँपालिकाका नथुनी साहले अख्तर हुसैनको उम्मेदवार बनेपछि साहले उम्मेदवारी दर्ता गराउन नसकेको बुझिएको छ ।

यसैगरी माओवादी केन्द्रबाट अल्पसंख्यक समुहबाट उम्मेदवार बनेका नरेन्द्र साहले समय सकिए पछि उम्मेदवारी दर्ता गराउन पुगेको कारणले उम्मेदवारी दर्ता हुन सकेन ।

नरेन्द्र साहले उम्मेदवारी दर्ता गराउन जाँदा राजपाका नेताहरुले अवरोध समेत गरेका थिए । दुवै पार्टी बिचमा विवाद समेत भएको थियो । तर निर्वाचन आयोगले समेत समय सकिएको जनाए पछि दर्ता हुन सकेन ।