एजेन्सी । स्विडेनलाई पराजित गर्दै युक्रेन युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।
युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे भने स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २(१ को महत्वपूर्ण जित दिलाए । खोलको २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १–१ को बराबरीमा ल्याए ।
जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ । यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।