दाङ । दाङमा लकडाउन १० दिन थपिएको छ । जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको शुक्रवार घोराहीमा बसेको बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो । अतिआवश्यक बस्तुका लागि भने अब दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म पसल खोल्ने र बैंक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरिएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए ।
यस अघि हप्तामा २ दिन अतिआवश्यक पसलहरु खुल्दा बजारमा निकै भिडभाड हुने गर्दथ्यो । प्रमुख जिल्ला पौडेलको अध्यक्षतामा भएको बैठकमा १० वटै स्थानीय तहका प्रमुख , सुरक्षा प्रमुख , स्वास्थ्य प्रमुख लगाएतको सहभागीता रहेको थियो । लकडाउन जेठ २५ गतेसम्म साँझसम्म हुने छ ।
यसअघी थपेको लकडाउन १५ गते बेलुकी ६ बजे सकिदै छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै दाङमा यसको रोकथाम तथा नियन्त्रणका लागी गएको गत बैशाख १७ गतेदेखी जिल्लाव्यापी रुपमा लकडाउन गरिएको छ ।
लकडाउनको अवधीभर अतिआवश्यक सवारी साधन, नागरिक र सेवा बाहेक अन्य सबै सेवा र आवत-जावत बन्द छन् । त्यस्तै कोरोना संक्रमण र मृत्युको दर घट्दै गएको भएता पनि स्वास्थ्य सुरक्षा र लकडाउनेको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।