फरेन्सिक नमूना भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छः मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

फरेन्सिक नमूना भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छः मन्त्री पुन

काठमाडौँ ।  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले फरेन्सिक तथा जैविक नमुना दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पुनले यस्तो फरेन्सिक नमूना सुरक्षित रुपमा दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथिको छलफलका क्रममा उहाँले नमूना भण्डारण अवधि र व्यवस्थापनसम्बन्धी प्रावधान नियमावलीमार्फत स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले विधेयकमा फरेन्सिक नमूना भण्डारणको व्यवस्था गर्नुपर्ने व्यवस्था राख्दै नियमावलीमार्फत कुन प्रकारको नमुना कति समयसम्म भण्डारण गर्ने भनि निर्धारण गर्नुपर्ने बताउनु भयो ।

जैविक नमूनाको प्रकृति र उपयोगिता फरक हुने भएकाले वैज्ञानिक आधारमा भण्डारण अवधि तोकिनुपर्ने मन्त्री पुनको भनाइ छ । उहाँले सरकारले माइनस २० डिग्री सेल्सियस र  माइनस ८० डिग्री सेल्सियस तापक्रममा फरेन्सिक तथा जैविक नमूना भण्डारण गर्न सक्नेगरी पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । कुनै मुद्दाको अनुसन्धान वा न्यायिक प्रक्रिया जारी रहेसम्म आवश्यक प्रमाण सुरक्षित राख्नुपर्ने भएको कारण यसको आवश्यकता रहेको उहाँको भनाइ छ ।उहाँले फोटो, अभिलेखलगायत डिजिटल प्रमाणका हकमा दीर्घकालीन डिजिटल भण्डारण सम्भव भएकाले त्यस्ता सामग्री सुरक्षित अभिलेखीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply