इन्टरनेटमा मानिसभन्दा एआई एजेन्ट सक्रिय , १ वर्षमै ८००० प्रतिशत वृद्धि | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

इन्टरनेटमा मानिसभन्दा एआई एजेन्ट सक्रिय , १ वर्षमै ८००० प्रतिशत वृद्धि

संवाददाता , नरेन्द्र ज्ञवाली , काठमाडौँ । डिजिटल इतिहासमै पहिलो पटक इन्टरनेटमा मानिसको तुलनामा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई एजेन्ट र बट्स बढी सक्रिय भएका छन । वेब पूर्वाधार कम्पनी क्लाउडफ्लेयरका अनुसार विश्वभरको कुल इन्टरनेट ट्राफिकमा एआई एजेन्ट र बट्सको हिस्सा ५७.४ प्रतिशत पुगेको छ, मानिसको उपस्थिति ४२.६ प्रतिशतमा खुम्चिएको छ । साइबर सुरक्षा फर्म ह्युमन सेक्युरिटीद्वारा प्रकाशित २०२६ स्टेट अफ एआई ट्राफिक प्रतिवेदन अनुसार, इन्टरनेटमा स्वायत्त रूपमा काम गर्ने एआई एजेन्ट र एजेन्टिक ब्राउजरहरूको गतिविधिमा पछिल्लो एक वर्षमा ७,८५१ प्रतिशत (करिब ८०००%) को कीर्तिमानी वृद्धि भएको देखिएको हो । यो सर्च इन्जिनका क्रोलरहरू भन्दा फरक प्रविधि हो । यस अन्तर्गत ओपनएआईको एटलस र पप्र्लेक्सिटीको कमेट जस्ता अत्याधुनिक एआई एजेन्टहरूले मानिसको निर्देशनमा इन्टरनेटमा विभिन्न वेबसाइटहरू हेर्ने, फारम भर्ने, सामानहरूको तुलना गर्ने र अनलाइन खरिदबिक्री गर्ने स्वचालित कामका रूपमा गरिरहेका छन । प्रतिवेदनका अनुसार मेशिनबाट हुने यस्तो स्वचालित सक्रियता मानिसको सक्रियताभन्दा ८ गुणा तीव्र गतिमा बढिरहेको छ ।

बदलिँदै वेबको बिजनेस मोडेल
विगत तीन दशकदेखि इन्टरनेटको व्यावसायिक मोडेल मुख्यतः विज्ञापन, पेज भ्यु , क्लिक र प्रयोगकर्ताको कन्भर्जन फनेल अर्थात सामान खरिद गर्ने प्रक्रियामा आधारित थियो । कुनै पनि वेबसाइटको डिजाइन र यसको वित्तीय आम्दानी “भिजिटर एउटा मानिस नै हो“ भन्ने मान्यतामा टिकेको हुन्थ्यो । तर, एआई एजेन्टको दबदबा बढेसँगै यो परम्परागत विज्ञापन मोडेल सङ्कटमा परेको छ । एआई एजेन्टहरूले वेबसाइटमा देखिने विज्ञापनहरू हेर्दैनन्, उनीहरूलाई कुनै ब्यानर विज्ञापन देखाएर आकर्षित नै गर्न सकिन्छ । उनीहरू सिधै वेबसाइटको भित्री तथ्याङ्क वा सामग्री संकलन गर्छन् र प्रयोगकर्तालाई संक्षिप्त रूपमा जवाफ दिन्छन । यसले गर्दा अनलाइन व्यवसायहरूले अब मेशिन र एआई एजेन्टलाई लक्षित गरी आफ्नो व्यावसायिक मोडेल र एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस रणनीति बदल्न थालेका छन् ।

मेशिन अर्थतन्त्र र एजेन्टमा कुल गार्हस्थ्य उत्पादनको उदय
यो संरचनात्मक परिवर्तनले विश्व बजारमा नयाँ प्रकारको मेशिन अर्थतन्त्रलाई जन्म दिएको छ । पिचबुक र स्टार्टअप फोर्सीको वित्तीय विश्लेषण अनुसार, हाल परिचालनमा रहेका एआई एजेन्टहरूले प्रत्यक्ष रूपमा सिर्जना गरिरहेको आर्थिक मूल्य अर्थात् एजेन्ट जीडीपी वार्षिक ३६ अरब अमेरिकी डलर बराबर पुगिसकेको छ ।विज्ञहरूका अनुसार, एआई एजेन्टलाई सुम्पिन सकिने सम्भावित २० ट्रिलियन डलर बराबरको विश्वव्यापी काममध्ये अहिले करिब १ प्रतिशत मात्र एआईमार्फत भइरहेको छ, जसले आगामी दिनमा यो क्षेत्रमा कति ठूलो आर्थिक सम्भावना छ भन्ने देखाउँछ ।

साइबर सुरक्षा र पहिचानको नयाँ चुनौती
इन्टरनेटमा मानिसभन्दा बढी एआई सक्रिय हुनुले साइबर सुरक्षामा नयाँ चुनौतीहरू थपेको छ । एआई एजेन्टहरूले ठ्याक्कै मानिसले जस्तै इन्टरनेट ब्राउजिङ गर्ने र खाता खोल्ने हुनाले परम्परागत सुरक्षा उपकरणहरूले वास्तविक मानिस र एआई एजेन्ट छुट्याउन गाह्रो परिरहेको छ । यसले गर्दा डिजिटल मार्केटिङको तथ्याङ्क बिग्रिने, कृत्रिम रूपमा ट्राफिक बढ्ने र साइबर हमलाको जोखिम तीव्र हुने खतरा बढेको छ ।

Leave a Reply