संवाददाता कविना बलामी
केही वर्षअघिसम्म केवल कल्पनाको विषय मानिने एआई अहिले दैनिक जीवनको आवश्यकता र विकासको प्रमुख आधारका रूपमा स्थापित भएको छ । यसले काम गर्ने तरिका, सिक्ने शैली, निर्णय प्रक्रिया र ज्ञान उत्पादनका स्वरूपलाई नै परिवर्तन गरिरहेको छ ।एआईको तीव्र विस्तारसँगै एउटा महत्वपूर्ण बहस पनि अगाडि आएको छ ।एआईले मानववादलाई कमजोर बनाउँछ कि मानव केन्द्रित विकासलाई थप सशक्त बनाउँछ ? प्रविधि आफैंमा न त राम्रो हुन्छ न नराम्रो, यसको प्रभाव त्यसको प्रयोग र नियमनमा निर्भर हुन्छ । यदि एआईलाई मानव मूल्य, नैतिकता, सामाजिक उत्तरदायित्व र समानताको आधारमा विकास गरियो भने यसले मानव जीवनलाई अझ सहज, प्रभावकारी र समृद्ध बनाउन सक्ने कुरा त सबैलाई थाहा छदैँ छ । त्यसैले आजको आवश्यकता मानवलाई विस्थापित गर्ने एआई होइन, मानव केन्द्रित एआई प्रणाली निर्माण गर्नु हो, जसले प्रविधिलाई मानव हित, मानव अधिकार र सामाजिक न्यायको पक्षमा प्रयोग गरोस् । शिक्षा क्षेत्रमा एआईको प्रयोग विशेष रूपमा बढिरहेको छ ।
उच्च गतिको इन्टरनेट, डिजिटल पूर्वाधार, सुरक्षित डेटा प्रणाली, अनुसन्धान केन्द्र, प्राविधिक जनशक्ति तथा नवप्रवर्तनमैत्री वातावरणबिना एआईको प्रभावकारी प्रयोग सम्भव हुँदैन । शिक्षण प्रक्रिया, प्रशासन, मूल्याङ्कन, अनुसन्धान तथा सिकाइ व्यवस्थापनमा एआई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट कार्ययोजना आवश्यक हुन्छ । प्रयोगका क्रममा निरन्तर परीक्षण, मूल्याङ्कन, सुधार र अनुभव आदानप्रदानको व्यवस्था हुनुपर्छ ।एआई सम्बन्धी कानुन निर्माण, परीक्षण, समीक्षा तथा अनुसन्धानलाई पनि समान महत्व दिएर कुनै पनि एआई प्रणालीलाई व्यापक रूपमा लागू गर्नुअघि त्यसको प्रभाव अध्ययन गर्नु आवश्यक छ । पाइलट कार्यक्रममार्फत सम्भावित अवसर र जोखिम पहिचान गरी आवश्यक सुधार गरेपछि मात्र पूर्ण कार्यान्वयनतर्फ जानु उपयुक्त हुन्छ । अनुसन्धानले एआईको सामाजिक, आर्थिक, नैतिक तथा शैक्षिक प्रभावबारे तथ्यपरक आधार प्रदान गर्छ । शिक्षा क्षेत्रमा एआईको प्रयोग कसरी गर्ने, कुन सीमा भित्र प्रयोग गर्ने, विद्यार्थी र शिक्षकका अधिकार तथा जिम्मेवारी के हुने, डेटा गोपनीयता कसरी सुरक्षित गर्ने तथा नैतिक प्रयोग कसरी सुनिश्चित गर्ने भन्ने विषयमा स्पष्ट नीतिगत व्यवस्था आवश्यक छ ।
एआईको विस्तारसँगै शिक्षक र विद्यार्थीको भूमिकामा पनि परिवर्तन भइरहेको छ। शिक्षक अब केवल ज्ञान दिने व्यक्ति नभई मार्गदर्शक, सहजीकरणकर्ता र सिकाइको नेतृत्वकर्ता बन्दै गएका छन्। विद्यार्थीहरू पनि निष्क्रिय रूपमा ज्ञान ग्रहण गर्ने अवस्थाबाट सक्रिय खोजकर्ता, विश्लेषक र सहनिर्माताको भूमिकामा रूपान्तरण भइरहेका छन ्। यो परिवर्तनलाई व्यवस्थापन गर्न पर्याप्त तयारी आवश्यक छ । सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, प्राविधिक विशेषज्ञ तथा नागरिक समाजबीच सहकार्य आवश्यक हुन्छ । एआईको विकास र प्रयोग पारदर्शी, उत्तरदायी र मानव अधिकारमैत्री हुनुपर्छ। यसका लागि कानुनी व्यवस्था, नैतिक मापदण्ड र उत्तरदायित्वका संरचनाहरू विकास गर्नुपर्छ ।
एआई मोडेलहरूको गुणस्तरीय र विश्वसनीय प्रणाली विकास अर्को आवश्यकता हो। विभिन्न एआई प्रणालीहरूबीच समन्वय, डेटा गुणस्तर, पारदर्शिता तथा उत्तरदायित्व सुनिश्चित नगरी एआईको दीर्घकालीन उपयोगिता कायम रहन सक्दैन। गुणस्तरीय एआईले मात्र विश्वसनीय परिणाम दिन सक्छ ।
शिक्षामा एआई एकीकरणसँग सम्बन्धित प्रमुख चुनौतीहरूमध्ये पाठ्यक्रम तथा शैक्षिक गतिविधिको पुनः डिजाइन सबैभन्दा महत्वपूर्ण हो। वर्तमान शिक्षा प्रणाली धेरै हदसम्म तथ्य कण्ठ गर्ने र परीक्षामुखी संरचनामा आधारित छ । एआइको युगमा आलोचनात्मक सोच, समस्या समाधान क्षमता, सिर्जनशीलता, सहकार्य, नैतिक निर्णय तथा डिजिटल सीपलाई प्राथमिकता दिने पाठ्यक्रम आवश्यक छ ।एआई मानव सभ्यताको महत्वपूर्ण उपलब्धि हो । तर यसको सफलता केवल प्रविधिको उन्नतिमा होइन, मानव हितमा आधारित प्रयोगमा निर्भर हुन्छ। शिक्षा क्षेत्रमा एआईले अभूतपूर्व अवसरहरू सिर्जना गरेको भए पनि समानता, नैतिकता, पहुँच, गोपनीयता, उत्तरदायित्व र मानवीय मूल्यहरूको संरक्षणलाई केन्द्रमा राख्न आवश्यक छ ।




