शहरले खोस्न नसकेको खुशीः काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

शहरले खोस्न नसकेको खुशीः काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ

काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू आपसमा गाँसिएको एउटा भव्य लिङ्गे पिङ । परम्परा र आधुनिकताको योभन्दा जीवन्त द्वन्द्व र मेल सायद काठमाडौंमा अन्त कतै देख्न पाइँदैनथ्यो ।
मध्याह्नको चर्को घाम सिधै आकाशबाट खसिरहेको थियो । बाँसको टुप्पोमा बाँधिएको बाबियोको चमरबाट प्रकाश छरपस्ट भएर लेन्समा ठोक्किँदा पिङको काठको फलेकमा बसेको त्यो सानो ज्यान कालो सिल्हूट बनेर आकाशमा तैरिरहेको देखिन्थ्यो । न कुनै भिडियो गेम, न कुनै कृत्रिम संसार । त्यहाँ केवल घामको राप, हावाको वेग र एउटा बालकको उड्ने तृष्णा थियो । सेतो टिसर्ट र स्नीकर लगाएको एउटा सानो बाबु जब दुई हातले सनपाटको डोरी समातेर अगाडि हुत्तियो, उसको अनुहारमा फुल्ने त्यो निष्कपट हाँसोले सडकको सारा कोलाहललाई क्षणभरमै निस्तेज बनाइदियो । खुट्टा हावामा तेर्सिएका थिए, अनि आँखामा थियो खुला आकाश जित्दाको अद्भूत चमक । केही बेरपछि पिङमा उक्लिन आइन् एउटी किशोरी । सधैं कलेज र चार पर्खालको वन्धनमा सिमित रहने उनका पाइलाहरूले जब धर्ती छाडे, हावासँगै उनका कपालहरू लहराए । उनको ओठमा फुलेको त्यो लाजमिश्रित तर उन्मुक्त मुस्कानले भनिरहेको थियो ।  मान्छेलाई खुसी हुन धेरै कुरा चाहिँदैन, केवल मनको पखेटा फिँजाउने एउटा निहुँ भए पुग्छ ।
एकातिर आधुनिक सडकबत्तीको सोलार पोल, अर्कोतिर सदियौँ पुरानो बाँसको पिङ । तिब्र गतिमा गुडिरहेका गाडीहरूका चालक पनि एकछिन ब्रेक लगाएर पिङतिर हेर्थे । पिङमा मच्चिरहेको साथीलाई हेर्दै तल दर्जनौँ बालबालिकाहरू पालो कुरिरहेका थिए । यो शहरमा मानिसहरू बैंकको लाइन, अस्पतालको लाइन वा ट्राफिक जामको लाइनमा रिस र छटपटी पोख्छन् । तर यहाँ बाँसको फेदमा बसेर पालो कुर्नुमा कसैलाई हतार थिएन, सबैका आँखाहरू पिङको गतिसँगै माथि र तल नाचिरहेका थिए ।
दशैँ केवल केटाकेटीको मात्र कहाँ हो र ? 
पहेँलो र सेतो बुट्टेदार कुर्था लगाएकी महिला जब पिङको फलेकमा बसिन्, उनले सायद केही मिनेटका लागि घरको चुलोचौको, पाहुनापाछाको सत्कार र पारिवारिक जिम्मेवारीको सारा बोझ जमिनमै छाडिदिएकी थिइन् । पिङ जति–जति माथि पुग्यो, उनको अनुहारमा उति–उति बाल्यकालको रंग गाढा हुँदै गयो। शरीर हावामा तेर्सिँदा मुटुको धड्कन एकछिन रोकिन्थ्यो होला, तर त्यो रोमाञ्च नै त वर्षभरिको थकान पखाल्ने ओखती थियो । पिङको ठीक पछाडि रातो कुर्था लगाएकी एउटी आमा हात बाँधेर उभिइरहेकी थिइन् । आफ्नो सन्तान हावामा उड्दा उनको मनमा सन्तान लड्छ कि भन्ने हलुका सन्त्रास र सन्तानको ओठमा हाँसो देख्दाको गहिरो सन्तुष्टि एकसाथ पोखिएको थियो । पिङ आकाशमा जति मच्चिन्थ्यो, काठमाडौंको सुख्खा माटोमा उसको छायाँ त्यति नै तिब्र गतिमा नाच्थ्यो । हाम्रा पूर्खाहरूले त्यसै भनेका थिएनन्, ‘विजया दशमीको दिन जसरी भए पनि एकपटक धर्ती छाड्नुपर्छ ।’ ताकि धर्ती माताको ऋण चुक्ता होस् र वर्षभरिको दुःख–कष्ट हावासँगै उडेर जाओस् । शहरले हामीबाट धेरै कुरा खोस्यो । खुला फाँटहरू खोस्यो, स्वच्छ बतास खोस्यो, अनि चौतारीहरू खोस्यो । तर दशैँको यो केही दिनमा काठमाडौंको यो सडकछेउ उभिएको चारखुट्टे लिङ्गे पिङले प्रमाणित गरिदियो । नेपालीको मनबाट मौलिकता खोस्ने तागत कुनै कंक्रिटसँग छैन ।
साँझ ढल्किँदै गर्दा पनि पिङको मच्चाइ रोकिएको थिएन । एउटा पिङ, जसले धनी र गरिब चिनेन । महल र झुपडी छुट्याएन । धुलाम्मे सडकको छेउमा उभिएर सबैले एउटै लयमा मुस्कुराए, अनि हावामा उडेर धर्ती छाड्दाको आनन्द बाँडे । यो बाँसको लिङ्गे पिङझैं, हाम्रो मौलिक संस्कृति र यो निश्चल नेपालीपन सधैँ आकाश छुने गरी मच्चिइरहोस् । सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।

Leave a Reply