नाइजेरियामा सैन्य कारबाहीमा १०२ आतंककारी मारिए, ३४५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

नाइजेरियामा सैन्य कारबाहीमा १०२ आतंककारी मारिए, ३४५ जना पक्राउ

नाइजेरियाली सुरक्षा फौजले चालु जुलाई महिनामा देशका विभिन्न भागमा सञ्चालन गरेको सैन्य अभियानका क्रममा १०२ जना संदिग्ध आतंककारीहरू मारिएका छन् । उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राजधानी अबुजामा आयोजित मासिक पत्रकार सम्मेलनमा नाइजेरियाली सेनाका प्रवक्ता माइकल ओनोजाले अन्य सुरक्षा निकाय र स्थानीय स्वयंसेवक समूहको समन्वयमा यी कारबाहीहरू सम्पन्न गरिएको बताउनु भयो । प्रवक्ता ओनोजाकाअनुसार यस अवधिमा ३९३ जना अपहरित व्यक्तिहरूको सफलतापूर्वक उद्धार गरिएको छ ।
‘यस महिना हामीले १०२ आतंककारीहरूलाई निष्कृय पारेका छौँ भने ३४५ आतंककारी र अपराधीहरूलाई पक्राउ गरेका छौँ ।’ ओनोजाले भन्नुभयो । उहाँले सैन्य दबाबका कारण ५७ जना विद्रोहीहरूले आत्मसमर्पण गरेको र कारबाहीका क्रममा ५९ थान हतियार तथा १ हजार ८११ राउन्ड गोली बरामद गरिएको समेत जानकारी दिनुभयो ।
यो सैन्य अभियान विशेषगरी आतंककारी, अपहरणकारी, सशस्त्र मिलिसिया र पृथकतावादी समूहहरू लक्षित रहेको बताइएको छ। देशको उत्तर–पूर्वी क्षेत्रमा सक्रिय बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स विरुद्ध सेनाले ठूलो सफलता हात पारेको छ । सोही क्रममा आइएसडब्ल्युएपीका मुख्य प्रचारक मानिने अबु सलिम अल–बरनवी समेत मारिएको सेनाले पुष्टि गरेको छ । यसैगरी, दक्षिणी नाइजेरियामा सेनाले आतंककारीहरूको बन्दोबस्तीका सामान आपूर्ति गर्ने सञ्जाल ध्वस्त पारेको छ भने तेल चोरीमा संलग्न संदिग्धहरूलाई समेत नियन्त्रणमा लिएको छ ।
नाइजेरिया लामो समयदेखि आतंकवाद, अपहरण, लुटपाट, सशस्त्र उग्रवाद, साना हतियारको अवैध विस्तार र किसान–चरवाहे बीचको द्वन्द्व जस्ता गम्भीर सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार