मध्यपूर्वमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

मध्यपूर्वमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वका सबै मोर्चाहरूमा जारी युद्ध तत्काल रोक्न आह्वान गर्नुभएको छ । खाडी क्षेत्रमा सैन्य तनाव बढेको ६ महिना पुग्नै लाग्दा, क्षेत्रीय द्वन्द्वका रूपमा शुरु भएको यो संकटले अहिले विश्वव्यापी अस्थिरता निम्त्याइरहेको उहाँले चेतावनी दिनुभयो । शुक्रवार आयोजित कार्यक्रममा बोल्दै महासचिव गुटेरेसले हर्मोज जलसन्धिबाट हुने व्यापार धराशायी भएको र ऊर्जा बजारमा व्यापक उथलपुथल आएको उल्लेख गर्नुभयो । द्वन्द्वकै कारण खाद्य सामग्री र प्रमुख रासायनिक मलको मूल्यमा भारी वृद्धि भएको तथा आपूर्ति शृङ्खला अवरुद्ध बनेको उहाँको भनाइ छ ।
महासचिव गुटेरेसले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को प्रतिवेदन उद्धृत गर्दै यो संकटका कारण करिव ४ करोड ५० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने बताउनु भयो । साथै, बढ्दो महँगी र सुस्त आर्थिक वृद्धिका कारण थप लाखौँ मानिस गरिबीको रेखामुनि धकेलिन सक्ने जोखिम रहेको उहाँले औंल्याउनु भयो ।
अमेरिकी राष्ट्रपतिद्वारा हालै सार्वजनिक गरिएको सम्झौतालाई सकारात्मक समाचारको रूपमा लिँदै उहाँले यसको स्वागत गर्नुभएको छ । उक्त सम्झौतामा हमासले हतियार त्याग्ने र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने उल्लेख छ ।
महासचिवले भन्नुभयो, ‘यी लक्ष्यहरू प्राप्त गर्नका लागि कार्ययोजना (रोडम्याप) घोषणा भइसकेको छ । उक्त कार्ययोजनालाई कुनै पनि आशंका वा अवरोधविना पालना गरिनुपर्छ। अब दुवै पक्षले सहमति कार्यान्वयन गर्ने समय आएको छ ।’
महासचिव गुटेरेसले मध्यपूर्वमा जारी सबै प्रकारका लडाइँ रोकिनुपर्नेमा पुनः जोड दिनुभयो । उहाँले हर्मोज र बाब अल–मन्दब जलसन्धिमा अन्तर्राष्ट्रिय नौवहन अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापना हुनुपर्ने र समस्या समाधानका लागि कुटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने माग समेत गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार