एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ११ हजार १ सय ७० मा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख ३२ हजार ९ सय ५० पीसीआर परीक्षणमध्ये तीन लाख ११ हजार १ सय ७० मा संक्रमण पुष्टि भएको हो ।
योसँगै भारतमा ७ दिन लगातार दैनिक संक्रमित संख्या ओरालो लागेको छ । भारतमा मे १० बाट दैनिक संक्रमित संख्या ओरालो लाग्दै आएको हो । मे ९मा ४ लाख ३ हजार नाघेको दैनिक संक्रमित संख्या मे १० मा तीन लाख ६६ हजारमा झरेको थियो ।
योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ४६ लाख ८४ हजार ७७ पुगेको छ ।
दैनिक संक्रमित संख्या निरन्तर ओरालो लाग्ने क्रममा भएपनि भारतमा दैनिक मृत्यु हुनेको संख्यामा भने कमी आउन सकेको छैन । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ज्यान गुमाउन चार हजार ७७ सहित भारतमा हालसम्म दुई लाख ७० हजार २ सय ८४ संक्रमितको मृत्यु भईसकेको छ ।
त्यसैगरी भारतमा हालसम्म दुई करोड ७ लाख ९५ हजार ३ सय ३५ संक्रमणमुक्त भईसकेका छन् जसमध्ये तीन लाख ६२ हजार ४ सय ३७ पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
भारतमा हाल ३६ लाख १८ हजार ४ सय ५८ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी भारतमा हालसम्म १८ करोड २२ लाख २० हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।