एजेन्सी, ३ चैत। उत्तर कोरियाका नेता किम जोङ्ग–उनकी प्रभावशाली बहिनीले तनावको कारण सिर्जना नगर्न अमेरिकालाई चेतावनी दिएकी छिन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरियन नीति तय गर्न गरिरहेको तयारीलाई लक्षित गर्दै किमकी बहिनी किम यो–जोङ्गले यस्तो चेतावनी दिएकी हुन्। किम यो–जोङ्गले अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको आलोचना समेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उच्च अमेरिकी अधिकारी दक्षिण कोरिया आउनु एक दिन पहिले किम यो–जोङ्गको यस्तो टिप्पणी आएको हो।
पछिल्लो पटक उत्तर कोरिया सरकारसँग वार्ताको लागि भईरहेको अमेरिकी प्रयास असफल भईरहेको छ । अमेरिकाले गएको फेबुअरीबाट नै सम्पर्क स्थापित गर्न खोजिरहेको भए पनि उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन ।
उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर दुई देशबिचको सम्बन्ध तनावको अवस्थामा छ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग–उनबीच वार्ता भएको पनि निष्कर्षबिहीन बनेको थियो ।