झापा, २० माघ । झापाको गौरादहमा जारी भलिबल विर्तामोड, गौरादह र झापा गाउँपालिकाले जित हात पार्दै सेमिफाइनल पुगेका छन् । गौरादहमा जारी मेयर कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगितामा विर्तामोडले बुद्धशान्ति गाउँपालिकामाथि २५–१० र २५–१७ को सोझो सेटमा जीत हात पारेको हो ।
त्यस्तै आयोजक गौरादह नगरपालिकाले कमल गाउँपालिकालाई २०–२५, २६–२४ र २५–१७ ले पाखा लगायो । पहिलो सेट गुमाएपनि दोश्रो सेटको अन्त्यतिर गौरादहले पुनरागमन गरेको थियो ।
बेष्ट अफ थ्रीमा खेलाइएको खेलमा घरेलु समर्थकको साथ पाएको उसले तेश्रो तथा निर्णायक सेटमा उत्कृष्ट प्रदर्शन गर्दै खेल २५–१७ ले जितेको थियो । त्यस्तै अर्को खेलमा उपाधि दाबेदार झापा गाउँपालिकाले कन्काई नगरपालिकामाथि २५–२१ र २५–१९ को सोझो सेटमा जीत हात पा¥यो ।
बुधबार पहिलो सेमीफाइनलमा विर्तामोड र आयोजक गौरादहबीच प्रतिस्पर्धा हुनेछ भने दोश्रो सेमीफाइनलमा दमक नगरपालिका र झापा गाउँपालिका आमने–सामने हुनेछन् ।




