प्रदेशमा तीन दलीय सरकार बनाउने प्रश्तावप्रति काँग्रेसको विमति | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रश्तावप्रति काँग्रेसको विमति

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रश्तावप्रति विमति प्रकट गर्नुभएको छ ।
आईतवार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रश्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताउनुभएको हो । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गर्नुभयो । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेट भन्दा फरक कुरा भएकाले काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । सत्तालाई नै सबैथोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उहाँको तर्क छ । राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताउनु भयो । सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा काँग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको बताउनु भयो ।

सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताउनु भयो । उहाँले काँग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार