एजेन्सी, ३२ जेठ । ईन्टर मिलानलाई हराउँदै नापोली कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगको खेलमा नापोलीले १–० को अग्रता लिएको थियो । सेमिफाइनलको दोस्रो लेगमा पाहुना टोली ईन्टरले क्रिस्टियन ईरिक्सनको गोलबाट खेलमा अग्रता थियो । डेरिस मार्टिन्सले ४१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
लोरेन्जोको पासमा मार्टिन्सले नापोलीबाट कीर्तिमान गोल गर्न सफल रहे । दोस्रो लेगमा दुवै टोलीले अंक बाँड्न परेपछि नापोलीले पहिलो लेगमा लिएको अग्रताका आधारमा फाइनल प्रवेश गर्न सफल रह्यो ।
नापोलीले उपाधिका लागि युभेन्ट्ससंग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ । युभेन्ट्सले एसी मिलानलाई हराउँदै कोपा इटालियाको फाइनल प्रवेश गरिसकेको छ । नोपोलीले पछिल्लो पटक सन् २०१४ मा प्रतियोगिताको उपाधि उचालेको थियो ।




