बडादशैँ विधिवत समापन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८३, आइतबार

बडादशैँ विधिवत समापन

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि प्रारम्भ भएको नेपालीहरूको महान चाड बडादशैँ आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरी विधिवत रूपमा समापन गरिँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आजको दिन साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । ‘को जाग्रत’ अर्थात’ को जागेको छ ?’ भन्ने अर्थ बोकेको यस पर्वमा आजको रात जो व्यक्ति जागा रही भगवतीको आराधना गर्छ, उसैलाई धनधान्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश, जमरा र देवीको प्रतिमालाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिनसम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा सकिन्छ । कतिपय समुदायमा कोजाग्रत पूर्णिमाकै दिन साँझ कौडा वा पासा खेल्ने प्रचलन समेत रहिआएको छ । यसै अवसरमा आजैदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने कार्यको पनि शुभारम्भ हुन्छ । घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याएर त्यसमा दियो बाल्ने परम्परा छ, जसलाई पितृहरूको मार्गदर्शन तथा दिवङ्गत आत्माको शान्तिका लागि बालिएको मानिन्छ । विजयादशमीपछिको पूर्णिमासँगै बडादशैँको उल्लास सकिए पनि जनजीवन अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारतर्फ उन्मुख भएको छ । कोजाग्रत पूर्णिमाको समापनसँगै मुलुकभर तिहारको पूर्वतयारी र किनमेलको चहलपहल शुरु भएको छ ।

Leave a Reply