काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताउनुभएको छ ।
आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न क्यान तयार रहेको बताउनुभएको हो । उहाँले एनपीएल सञ्चालनका लागि गभर्निङ काउन्सिलले छुट्टै कार्यविधि बनाएको र निर्णय प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकास गरिएको जानकारी दिनुभयो । प्रतियोगितासम्बन्धी निर्णयहरू क्यानको बोर्ड र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उहाँको भनाइ छ । एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन सञ्चालन गरिएको प्रतियोगिता नभएको उल्लेख गर्दै खड्काले यसलाई नेपाली क्रिकेटको विकास र विस्तारसँग जोडेर हेर्नुपर्ने बताउनु भयो । क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरेको पनि उहाँले जानकारी दिनुभयो । ती निकायबाट प्राप्त पत्रको जवाफ दिइसकेको र आगामी दिनमा पनि जवाफदेही भएर काम गर्ने उहाँले बताउनु भयो ।
खड्काले क्यानको नेतृत्वले विगत तीन वर्षदेखि पाएको जिम्मेवारी पूरा गर्न प्रयास गरेको उल्लेख गर्दै सही नियत हुँदाहुँदै पनि कुनै काममा कमजोरी हुनसक्ने स्वीकार गर्नुभयो । त्यस्ता कमजोरीलाई पहिचान गरेर सच्याउँदै लैजाने उहाँको भनाइ छ । एनपीएलको तेस्रो संस्करण सोमवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ ।




