राजनीति

एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान, पुरस्कार राशि बढ्यो

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काले आईतवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिव २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उहाँको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताउनु भयो । यसअनुसार एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने उहाँको अनुमान छ ।
खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताउनु भयो ।
क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ । एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उहाँले बताउनु भयो ।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पु¥याउने अपेक्षा क्यानले गरेको छ ।

Related Post
Share

This website uses cookies.