काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको ‘नेपाल टी–ट्वान्टी लिग’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त यस प्रतियोगिता शुरु हुनु अघिल्लो दिन आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानले तयारी ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको औपचारिक जानकारी दिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित विशेष पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो । चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भएपनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानको भनाइ छ । खड्काकाअनुसार यो प्रतियोगिता आईसीसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ । यसै सन्दर्भमा क्यानले विशेषगरी विदेशी तथा स्वदेशी खेलाडीहरूको सहभागिताबारे आधिकारिक पुष्टि नभई भ्रामक समाचार संप्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।
सम्बन्धित टिम व्यवस्थापन र क्यानको आधिकारिक धारणा नलिई खेलाडीबारे अपुष्ट विवरण आउँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने भन्दै संघले सचेत गराएको हो ।
This website uses cookies.