लकडाउनका २१ दिनमा ८६ बलात्कारका घटना, ७२ घरेलु हिंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लकडाउनका २१ दिनमा ८६ बलात्कारका घटना, ७२ घरेलु हिंसा

rape

काठमाडौं, ८ वैशाख । लकडाउन अवधिमा समग्र अपराधका घटनामा ९० प्रतिशत कमी आएको छ । तर, महिला र बालबालिका भने घरआसपासमै असुरक्षित हुन थालेका छन् । लकडाउन भएदेखि १ वैशाखसम्मको २१ दिनमा ८६ वटा बलात्कार र ७२ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार लकडाउनको अवधिमा औसतमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना भएका छन् । जसमा धेरै बालिका छन् । धेरैजसो बलात्कारका घटना आफन्त तथा छिमेकीबाट भएको प्रहरीले जनाएको छ ।

११ चैतदेखि १ वैशाखसम्मको अवधिमा ७६ वटा बलात्कार तथा १० वटा बलात्कार प्रयासका घटना भएका छन् । सामान्य अवस्थामा बलात्कारका घटना दैनिक ६ वटा हुन्थे । अन्य अपराध ९० प्रतिशत घट्दा बलात्कारका घटना भने आधा मात्रै घटेको प्रहरीले जनाएको छ ।

यो अवधिमा प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ मा १६–१६ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । प्रदेश २ मा १२, सुदूरपश्चिममा १०, कर्णालीमा नौ र गण्डकी प्रदेशमा ६ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । यो अवधिमा काठमाडौं उपत्यकामा मात्रै पाँचवटा घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार माघमा देशभर बलात्कारका दुई सय र फागुनमा दुई सय ४६ घटना दर्ता भएका थिए ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले लकडाउनको समयमा अन्य अपराध घटे पनि महिला र बालबालिकामाथिका अपराध भने तुलनात्मक रूपमा धेरै रहेको बताए । ‘घरबाहिर हुने अपराध घटेका छन्,’ उनले भने, ‘घरभित्रका अपराधका घटनाको संख्या अहिले सबैभन्दा धेरै छ ।’

प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयले गरेको अध्ययनअनुसार यतिवेला अधिकांश पीडित बालबालिका छन् । पीडक धेरै आफन्त छन् । ‘लकडाउनमा आफन्तबाटै बालबालिका असुरक्षित देखिएका छन्,’ निर्देशनालयमा कार्यरत डिएसपी दिप्ती कार्कीले भनिन् । यस्तो अवस्थामा बालबालिकाको विशेष ख्याल गर्न प्रहरीले अनुरोध गरेको छ । यसबारे प्रहरीले दैनिक टोलटोलमा माइकिङसमेत गर्दै आएको छ ।  खासगरी अभिभावक नभएका बालिका जोखिममा देखिएको प्रहरीले जनाएको छ । कतिपय महिला तथा बालबालिकाको प्रहरीले उद्धारसमेत गरेको छ ।

घरेलु हिंसाका ७२ घटना
लकडाउनको २१ दिनमा ७२ जनाले प्रहरीमा घरेलु हिंसाका उजुरी दर्ता गरेका छन् । सामान्य अवस्थामा मासिक करिब एक हजार उजुरी दर्ता हुने गरेका थिए । उजुरीको संख्या घटे पनि हिंसाका घटना भने नरोकिएको प्रहरी आकलन छ । ‘फोनबाट उजुरी गर्नेको संख्या ठूलो छ,’ डिएसपी दिप्ती कार्कीले भनिन्, ‘धेरैजसो श्रीमान्विरुद्ध उजुरी परेका छन्, कतिपयलाई हामीले फोनबाटै परामर्श दिएका छौँ ।’

उजुरी परेकोभन्दा अझ धेरै महिला हिंसामा रहेको प्रहरीको अनुमान छ । प्रहरी कार्यालयमा जान नसक्ने र अन्य उपायबारे जानकारी नभएकाले पनि उजुरी कम परेको हुन सक्ने डिएसपी कार्कीले बताइन् । ‘अहिलेको अवस्थामा घरेलु हिंसा रोक्न हामीले फोनबाटै उजुुरी लिइरहेका छौँ, इमेल र मोबाइल एपबाट पनि हामीलाई उजुरी आइरहेका छन्, धेरैलाई यस्तो प्रक्रियाबारे जानकारी नहुन सक्छ,’ उनले भनिन् ।

लकडाउनको अवधिमा घरेलु हिंसाका घटना उपत्यकाका १० सहित बागमती प्रदेशमा सबैभन्दा धेरै २३ वटा दर्ता भएका छन् । सुदूरपश्चिममा १६, प्रदेश २ मा १३, प्रदेश ५ मा ११, कर्णाली चार, गण्डकीमा तीन र प्रदेश १ मा दुई घटना दर्ता भएका छन् । गत माघमा एक हजार ४९ तथा फागुनमा एक हजार ९४ वटा उजुरी प्रहरीमा दर्ता भएका थिए ।

लकडाउनको अवधिमा महिला तथा बालबालिकाविरुद्ध हुन सक्ने अपराधविरुद्ध विशेष सावधानी अपनाइएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा उजुरी गर्न प्रहरी कार्यालयसम्म पुग्न कठिन हुने भएकाले डिजिटल माध्यमबाट उजुरी गर्न प्रहरीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आह्वान गरेको छ । प्रहरीको सूचनामा भनिएको छ, ‘कोभिड– १९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थामा जोकोहीविरुद्ध हुन सक्ने घरेलु, यौनहिंसा वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी तत्पर रहेको छ । कृपया हिंसा सहेर वा हेरेर नबसौँ, वेलैमा उजुरी गरौँ ।’नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);