काठमाडौं, २९ चैत । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले एक महिनामा ३४ करोड ९१ लाख रुपैयाँको स्वास्थ्य सामग्री आयात गरेको छ । भन्सार विभागका अनुसार, गत एक महिनामा ३४ करोड ९१ लाख रुपैयाँ बराबरको मास्क, सेनिटाइजर, भाइरस संक्रमण परीक्षण गर्ने किट, स्वस्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री पीपीई तथा भेन्टिलेटर आयात भएको हो ।
भन्सारको प्रणालीमा चैत एक गतेदेखि २६ गतेसम्मको रेकर्डअनुसार कोभिड ¥यापिड टेष्ट किट, फेस सिल्ड, कालो चश्मा मास्क, पीसीआर टेष्ट कीट, पीपीई, सेनिटाइजर, थर्माेमिटर, भेन्टिलेटर र भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) आयात भएका छन् । यी स्वास्थ्य सामग्री खरिदका लागि ३४ करोड ९१ लाख सात हजार दुई सय ६३ रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।
यस अवधिमा करिब साढे ९ करोडको एक लाख थान कोभिड ¥यापिड टेष्ट किट नेपालमा आयात भएको छ । यसैगरी तीन हजार ९९ थान फेस सिल्डको चार लाख ९१ हजार दुई सय ६० रुपैयाँ परेको छ भने १७ लाख २६ हजार छ सय दुई रुपैयाँ बराबरको नौ हजार चार सय ६६ थान गगल्स ल्याइएको छ ।
विभागका अनुसार यो अवधिमा पाँच करोड ५९ लाख ७ हजार १ सय ८० रूपैयाँ बराबरको ४५ लाख थान मास्क नेपाल भित्रिएको छ । ४१ हजार थाने पीसीआर टेष्ट किटका लागि १५ करोड २६ लाख ६६ हजार चार सय ४९ रुपैयाँ तिरिएको छ ।
कोरोनासँग जुध्न अति आवश्यक १२ थान भेन्टिलेटरको लागत ३० लाख ५९ हजार एक सय सात रुपैयाँ मात्रै छ ।




