प्रदेश २ को नामाकरण लागेन टुंगो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश २ को नामाकरण लागेन टुंगो

pradesh-2

काठमाडौं, ५ चैत । प्रदेश २ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ ।

प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो । नामाकरण र स्थायी राजधानी तोक्न दलहरुबीच सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवको संयोकत्वमा गठित नामाकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समितिले मतदान प्रक्रियामा जान फागुन २९ गतेको प्रदेशसभा बैठकमा प्रस्ताव गरेको थियो ।

त्यसै अनुरुप मंगलबार मतदानमार्फत राजधानी र नामाकरण टुंग्याउने प्रयास गरिएको थियो । संसदीय व्यवस्था तथा परामर्श समितिको बैठकले तोकेको कार्यसूची अनुसार मंगलबार सबैभन्दा पहिले नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद रामकुमार यादवले सभामा प्रदेशको नाम जानकी प्रस्ताव पेस गरेका थिए । तर १०७ सदस्यीय प्रदेशसभामा जानकी प्रदेश प्रस्तावमा मतदान हुँदा पक्षमा ३७ मत मात्र परेको थियो । ३२ जना प्रदेशसभा सदस्य रहेको नेकपाको प्रस्तावको पक्षमा ५ जना अन्य दलका सांसदले मतदान गरेका थिए ।

नेकपाको प्रस्ताव अस्वीकृत भएपछि नेपाली कांग्रेसका तर्फबाट सांसद नरेशकुमार यादवले प्रदेशको नाम मिथिला भोजपुरा राखियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए । २८ जना सांसदले मात्रै पक्षमा मतदान गरेपछि सो प्रस्ताव पनि विफल भयो । कांग्रेसका बाहेक अन्य दलका नौ सांसदले मिथिला भोजपुरा प्रदेश पक्षमा मतदान गरेका थिए । तीनवटै प्रस्ताव अस्वीकृत भएपछि राजपा र समाजवादी पार्टीले संयुक्त रुपमा मधेस प्रदेश प्रस्ताव गरेका थिए । सो प्रस्तावमा मतदानका क्रममा विवादसमेत भएको थियो । मतदानमा मधेस प्रदेश को पक्षमा ६० मत खसेको थियो ।

दुईतिहाइ नपुगेकाले मधेस प्रदेश प्रस्ताव पनि अस्वीकृत भयो । प्रदेशसभामा कुनै दलसँग पनि दुईतिहाइ बहुमत नरहेकाले दलगत रुपमा तीन दल मिलेर मात्र नामाकरण हुनसक्ने स्थिति देखिएको छ । प्रदेशसभामा नेकपाका ३२, समाजवादीका ३०, राजपाका २५, कांग्रेसका १९ र नेपाल संघीय समाजवादी फोरमका १ सांसद छन् । प्रदेशसभामा मंगलबार पेस भएका सबै प्रस्ताव अस्वीकृत भएकाले फेरि पनि सरकारले दल तथा सांसदलाई प्रदेशसभामा नामका बारेमा प्रस्ताव गर्न समय तोक्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);