काठमाडौं, २३ माघ । एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा बिहीबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको जितमा दुवै गोल सन्तोष तामाङले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए । जितसंगै ११ खेलमा २६ अंक बटुलेर आर्मी शिर्ष स्थानमा रहेको छ ।
यसअघि बिहीबार नै भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले पुछारमा रहेको सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मच्छिन्द्र लिगको दोस्रो स्थानमा रहेको छ ।
मच्छिन्द्रको फराकिलो जितमा दिपक राईले दुई गोल गरे । यस्तै देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ’ए’ ले एक एक गोल गरे ।
सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए । जितसंगै ११ खेलमा २५ अंक जोडेर मच्छिन्द्र दोस्रो स्थानमा रहेको छ ।