एपीएफलाई हराउँदै मच्छिन्द्र 'ए' डिभिजनको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एपीएफलाई हराउँदै मच्छिन्द्र ‘ए’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं, १८ माघ । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रको जितमा विशाल राई ’बी’ र रञ्जित धिमालले एक एक गोल गरे ।

एपीएफका रमेश दंगालले एक गोल गरे । खेलमा सुरुवाती अग्रता उल्टाएर मच्छिन्द्रले जित निकालको हो । खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

फ्रि किकमा रमेशले हेड गोल गरेका थिए । नवीन लामाको फ्रिकिकलाई रमेशले पोस्टको दिशा दिएका थिए । दोस्रो हाफमा भने मच्छिन्द्र खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पेनाल्टी प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाएपछि आएको रिबाउण्डमा रञ्जितले गोल गरे । जुन गोल मच्छिन्द्रको जितमा निर्णायक बन्यो । खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए । जितसंगै १० खेलमा २२ अंक जोडेर मच्छिन्द्र शीर्ष स्थानमा उक्लीएको हो ।

शनिबार नै भएको पहिलो खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक तथा लाल राम्मव्राले एक गोल गरे ।

भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं, ६०औं र ७१ औं मिनेटमा सन्जोगले गोल गर्दै ह्याट्रिक थ्री स्टारलाई ४–० को फराकिलो जित दिलाए ।

सन्जोग जारी लिगमा तथा २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । खेलमा सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै १० खेलमा १७ अंक जोडेको थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);