थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र ’ए’ डिभिजन लिगको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र ’ए’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं, १३ माघ । मच्छिन्द्र फुटबल क्लब जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राईले एक– एक गोल गरे । जितसँगै मच्छिन्द्रले ९ खेलमा १९ अंक जोड्दै उपाधि होड कायमै राखेको छ । त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ । थ्री स्टारले ९ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

यसैगरी सोमवार नै भएको पहिलो खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।

एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।