राजनीति

भोटेकोशीको बहावबारे चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ

काठमाडौं । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाललाई कुनै ठूलो जोखिम नरहेको जनाएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । मन्त्री पोखरेलकाअनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको नियमित संवादका क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ । रसुवाको केरुङमा भोटेकोशी नदी थुनिएको स्थानबाट पानीको बहाव सतहभन्दा माथि (ओभर फ्लो) हुन थालेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
नदीको अवस्थाबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘अहिले बाँध नै फुटेको अवस्था भने होइन । केही साना हिमताल (ग्लेसियर) हरू फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभर फ्लो भएको छ । यद्यपि, तत्कालै ठूलो विपद्को जोखिम नदेखिए पनि सबैलाई उच्च शतर्कता अपनाउन हामी आग्रह गर्दछौँ ।’
चीनतर्फबाट प्राप्त जानकारीका आधारमा सरकारले स्थितिको निरन्तर अनुगमन गरिरहेको र जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गरिरहेको समेत प्रवक्ता पोखरेलले बताउनु भयो । सरकारले नदी किनारका बस्तीहरूलाई विशेष सजकता अपनाउन र आधिकारिक सूचनाको प्रतीक्षा गर्न सूचित गरेको छ ।

Related Post
Share

This website uses cookies.