काठमाडौं । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा (क्वाँटी पुन्ही) को पावन अवसरमा ऐतिहासिक नगरी पाटनस्थित पाँचतले श्री कुम्भेश्वर महादेव मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा भव्य मेला तथा जात्रा सम्पन्न भएको छ । बिहानको व्रह्ममुहूर्तदेखि नै मन्दिर प्राङ्गण, कोन्ती पोखरी र आसपासका पाटी–पौवाहरूमा दर्शनार्थी तथा साधकहरूको ठूलो घुइँचो लागेको थियो । रसुवाको ४,३८० मिटर उचाईमा रहेको दुर्गम हिमाली तीर्थ गोसाइँकुण्ड पुग्न नसक्ने लाखौँ भक्तजनहरूले कुम्भेश्वर परिसरस्थित पवित्र कोन्ती पोखरीमा स्नान गरी महादेवको पूजा–अर्चना गरेका छन् । पौराणिक मान्यता अनुसार समुन्द्र मन्थनको कालकूट विष सेवनपछि भगवान शिवले त्रिशूल प्रहार गरी उत्पन्न गर्नुभएको गोसाइँकुण्डको जल भूमिगत मार्ग हुँदै सिधै पाटनको कुम्भेश्वर पोखरीमा आइपुग्ने विश्वास गरिन्छ । विगतमा गोसाइँकुण्डमा खसेको काठको लौरो वा हाँस कुम्भेश्वरमा भेटिएको किंवदन्तीले गर्दा यहाँ स्नान गर्दा गोसाइँकुण्डकै बराबर पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । पोखरीको बीचमा काठेपुल बनाएर सजाइएको जलशयन सर्वेश्वर महादेवको खटमा भक्तजनहरूले बेलपत्र, जल र नैवेद्य अर्पण गरेका थिए ।जनैपूर्णिमाको दिन कुम्भेश्वर परिसरमा देखिने सबैभन्दा अनौठो र रहस्यमयी आकर्षण धामी–झाँक्रीहरूको भेला तथा तान्त्रिक साधना रह्यो ।
भगवान शिवलाई सम्पूर्ण मन्त्र–तन्त्र र झारफुक विद्याका आदिगुरु मान्दै देशभरका विभिन्न भूभागबाट आएका झाँक्रीहरू मन्दिरमा भेला भएका थिए । शिरमा मयूरको प्वाँखको अग्लो मुकुट, घाँटीमा १०८ दानासम्मका रुद्राक्ष माला, सेतो जामा र हातमा ढ्याङ्ग्रो र गजो लिएर उनीहरू विशेष तालमा नाच्दै मन्दिरको परिक्रमा गरेका थिए । मयूरले विष पचाउन सक्ने भएकाले नकारात्मक शक्ति नाश गरी सकारात्मक ऊर्जा जगाउने प्रतीकका रूपमा मयूरको मुकुट लगाउने परम्परा रहेको छ । यस दिन नयाँ झाँक्रीहरूले दीक्षा प्राप्त गर्ने र पुराना धामीहरूले शक्ति नवीकरण गर्ने गर्छन् ।




