इजरायलको चुनाव नजिकिँदै गर्दा ट्रम्पद्वारा नेतान्याहुको पक्षमा ‘पूर्ण समर्थन’ घोषणा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

इजरायलको चुनाव नजिकिँदै गर्दा ट्रम्पद्वारा नेतान्याहुको पक्षमा ‘पूर्ण समर्थन’ घोषणा

इजरायलमा हुन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पुनः निर्वाचित गराउन खुला समर्थन जनाउनुभएको छ । निर्वाचन हुन केवल नौ दिन बाँकी रहँदा आईतवार ट्रम्पले सामाजिक सञ्जालमार्फत नेतान्याहुलाई आफ्नो ‘पूर्ण र समग्र समर्थन’ रहेको घोषणा गर्नुभएको हो । आगामी अक्टोबर २७ मा इजरायलमा हुन गइरहेको संसदीय निर्वाचनलाई लक्षित गर्दै ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत नेतान्याहुको पक्षमा मत माग्नुभएको छ । ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणपछिको पहिलो राष्ट्रिय निर्वाचनको मुखमा ट्रम्पको यस्तो समर्थन सार्वजनिक भएको हो । ट्रम्पले नेतान्याहुलाई एक ‘महान योद्धा प्रधानमन्त्री’ को संज्ञा दिँदै इरानविरुद्धको लडाइँमा उनी अमेरिकाको अपरिहार्य साझेदार भएको उल्लेख गर्नुभयो । यदि इजरायलमा नेतान्याहु बाहेक अरू कुनै नेता सत्तामा आएमा इरानसँग जुध्ने सम्पूर्ण जिम्मेवारी अमेरिकाकै काँधमा आउन सक्ने चेतावनीसमेत उहाँले दिनुभयो ।
ट्रम्पले लेख्नुभएको छ, ‘यदि इजरायलमा गलत नेता निर्वाचित भए, जुन बिबी (नेतान्याहु) बाहेक जोकोही हुनसक्छ, अमेरिकाले यो जिम्मेवारी आफैं उठाउनुपर्ने हुन्छ, जुन म चाहन्नँ ।’
ट्रम्पको समर्थन सार्वजनिक भएलगत्तै प्रधानमन्त्री नेतान्याहुले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आभार व्यक्त गर्नुभयो । यता, अमेरिकी समाचार संस्था ‘एक्सिओस’ सँगको टेलिफोन संवादमा ट्रम्पले यसै साताको शुरुवातमै समर्थन दिने योजना बनाएको खुलाउनुभएको छ । नेतान्याहु बाहेकका अन्य नेताहरूसँग मिलेर काम गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा उहाँले अनिश्चितता व्यक्त गर्दै भन्नुभयो, ‘सायद म काम गर्न सक्छु, सायद सक्दिनँ।  यो जोखिम कसले मोल्न चाहन्छ ?’
नेतान्याहुका लागि यो चुनाव राजनीतिक रूपमा निकै चुनौतीपूर्ण मानिएको छ । अधिकांश जनमत सर्वेक्षणहरूले नेतान्याहुको गठबन्धनलाई बहुमतका लागि आवश्यक ६१ सिट जुटाउन कठिन हुने देखाएका छन् । कडा प्रतिष्पर्धात्मक चुनावी माहौलका बीच ट्रम्पको यस अभिव्यक्तिले इजरायली मतदाता र अन्तर्राष्ट्रिय कुटनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

Leave a Reply

ताजा समाचार