काठमाडौं, २३ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमनले अमेरिकालाई पराजित गरेको छ ।
किर्तीपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
यससँगै ओमनले सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा ओमनले नेपाललाई १८ रनले हराएको थियो । बिहीबार अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमनले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
ओमनको जितमा अकिब इल्यास र मोहमद नदीमले अर्धशतकीय इनिङ्स खेले । अकिबले ७२ रनको अर्धशतकीय इनिङ्स खेल्दा नदीले अविजित रहँदै ५५ रन बनाए । सुरज कुमार ३३ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । अमेरिकाका लागि इयान होल्याण्डले ६५ र अक्षय होमराजले ४४ रन बनाए ।
ओमनका मोहम्मद नदीमले ३ विकेट लिए । जितसँगै ओमनले लिगको शीर्ष स्थानको अमेरिकासँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको ओमनले ८ खेलमा १२ अंक जोडेको छ । अमेरिकाले ९ खेलमा १२ अंक जोडेको छ ।




