काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा संविधान संशोधनमार्फत स्थापित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नागरिकता र सुशासनको विषयमा संविधान संशोधन गर्न सरकारलाई दुई तिहाइ बहुमत जुटाउन राप्रपा सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, सामाजिक न्याय र रुपान्तरणका विषयमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताउनुभयो ।
उहाँले कृषिमा देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै देशका किसान रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्था अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्न समेत सबै दलहरुलाई आह्वान गर्नुभयो ।
उहाँले सुशासन स्थापना र प्रजातान्त्रिक विधिको सुदृढीकरणका लागि सबै दलहरू एकढिक्का हुनुपर्ने आवश्यकता औंल्याउँदै देशलाई प्राथमिकतामा राखेर सहकार्य गर्न समेत आह्वान गर्नुभयो ।





