सिरहा, २२ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमला–बलान सडक क्षेत्रमा गरिएको जग्गा अतिक्रमण मंगलवारदेखि हटाउन थालिएको छ ।
अतिक्रमणले अत्याधिक दुर्घटना वढाएको, राजमार्गको सौन्दर्य मासिएको कारण कानून कार्यान्वयन गर्न अतिक्रमण हटाउन थालिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
स्थानीय प्रशासनले आफ्नै अगुवाईमा राजमार्गमा अतिक्रमण गरी बनाईएका अस्थायी घर टहरा हटाउने अभियान थालेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राजनीतिक दल, स्थानीय सरकार, संघसंस्था लगायतका सरोकारवाला पक्षसँग छलफल गरी अतिक्रमित राजमार्ग खाली गर्न थालिएको बताउनु भयो ।
राजमार्ग क्षेत्र भित्र परेका अस्थायी घर टहरा हटाउन जारी गरिएको १५ दिने सूचना अटेर गरेको कारण अस्थायी घर टहरा हटाउन स्थानीय प्रशासनले कदम चालेको अधिकारीले बताउनु भयो ।